विद्यादेवी भण्डारी एमालेकाे मात्रै राष्ट्रपति हुनुभयाे : उपाध्यक्ष अर्याल

जनपत्र
१८ फाल्गुन २०७९, बिहीबार १४:०९

काठमाण्डाै – राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाउनुभएको छ ।

बिहीवार सिंहदरबामा आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको कुराकानीमा उपाध्यक्ष अर्यालले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेकपा एमालेले जुन विधेयक लगे पनि पास गर्ने तर अन्य पार्टीहरूले लगेको विधेयक पास नगर्ने गतिविधिका कारण राष्ट्रपति एमालेको मात्रै भएको बताउनुभयो । उहाँले नागरिकता विधेयक राष्ट्रपतिले संसदबाट दुई पटक पास गरेर लैजाँदासमेत फर्काउनु गलत भएको दाबी गर्नुभयो । उहाँले दुई पटक लैजाँदासमेत विधेयक पास नगर्नु पीडादायी रहेको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष अर्यालले भण्डारीले राष्ट्रपतिजस्तो पदमा बसेर अरूको इसारामा नागरिकता विधेयक रोकेको दाबी गर्नुभयो । उहाँले राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको सवालमा कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसाबले अघि बढेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले दुई पटक नागरिकता विधेयक फर्काउनुभयाे । कसको इसारामा फर्काउनुभयो, त्यो होइन, राष्ट्रपति भइसकेपछि राष्ट्रको अभिभावको हैसियतले पार्टीको स्तरभन्दा माथि उठेर छलफल गर्नुपर्छ । एक चोटि फर्काउनु ठिक छ तर दोस्रो पटक पठाएपछि पनि फर्काउनु भनेको संवैधानिक पदमा रहेको मान्छेले त्यस्तो गर्न मिल्छ र ? उहाँ सधैँ एमालेको मात्रै राष्ट्रपति भइराख्नुभयो । त्यहाँ जे सल्लाह हुन्छ त्यही मात्रै गर्ने, एमालेले लगेको विधेयक ओके गर्ने अनि अरूले पठाएकाे विधेयक रिजेक्ट गर्न मिल्छ र ? उहाँले कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसाबले रिजेक्ट गर्न मिल्दैन थियाे ।’

उपाध्यक्ष अर्यालले संवैधानिक पदमा रहेका व्यक्तिहरूले पदको मर्यादा जोगाउन नसके अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धिहरू गुम्ने खतरा रहेको बताउनुभयो । उहाँले संवैधानिक पदमा रहेका व्यक्तिहरूले पार्टीभन्दा माथि उठेर राष्ट्रहितलाई सर्वोच्चतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*