प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाअध्यक्षहरूले लगाए ताला

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्षहरूले ताला लगाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको कार्यकक्षमा वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादव, वडा नम्बर–५ का वडाअध्यक्ष दुखरण यादव, वडा नम्बर–६ का वडाध्यक्ष महाविर साह र वडा नम्बर–७ का वडाध्यक्ष गंगा साहले तालाबन्दी गरेका हुन् ।
उनले लक्ष्मीनियाँ गाउँपालिकामा करारका कर्मचारी हटाएर खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति भर्ना गरी नमुना गाउँपालिका बनाउने अभिप्रायले कार्यपालिका बैठकले निर्णय गरेको भएपनि अध्यक्ष भोगेन्द्र मिश्र र प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव मिलेर करारका कर्मचारी नहटाई खुला प्रतिस्पर्धा नै नगरेर आर्थिक चलखेल गरी आफ्नो नातागोता र खल्तीका मान्छेलाई नियुक्त गरेको आरोपसमेत लगाएका छन् ।
वडाअध्यक्ष यादवले रोजगार सहायक, एमआईएस अपरेटरलगायतका पदका लागि दरखास्त आह्वान गरिए पनि नतिजा प्रकाशन गर्दा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आर्थिक चलखेल गरी नातावाद कृपावाद गरेको आरोप लगाए ।
उनले अहिले कार्यपालिकाका दुई तिहाइ सदस्य उनीहरूको यस्तो कार्यको विरोधमा रहेको बताए ।