‘घर’ ले करोड कमायो : निर्मात्री पाण्डे

नेपाली हरर फिल्मले राम्रो व्यापार गर्न नसकिरहेको अवस्थामा यो फिल्मले भने प्रदर्शनको दोश्रो साताको शनिबारसम्म एक करोडको व्यापार गरेको निर्मात्री शर्मिला पाण्डेले जानकारी दिएकी छन् । उनले व्यापारिक सफलता यसअघिका फिल्मबाट चाख्न पाएकी थिइनन् । तर, यसपटक कम बजेटमा बनेको हरर फिल्मबाट उनले नाफा कमाउने देखिएको छ । फिल्मको व्यापार सिंगलभन्दा मल्टीप्लेक्स स्क्रिनमा राम्रो छ ।
दोश्रो साताको शनिबार पनि काठमाण्डौका अधिकांश मल्टीप्लेक्समा फिल्म हेर्न दर्शकको चाप देखिएको वितरक करण श्रेष्ठले जानकारी दिएका छन् । यो फिल्ममा निर्देशक अर्पण थापासँगै बेनिशा हमाल, सुरक्षा पन्तको मुख्य भूमिका छ । निर्मात्री पाण्डे हरर फिल्ममा पनि दर्शक भएको अनुभुती आफूले गरेको बताइन् । अहिले उनी नयाँ चलचित्र ‘आमा’ निर्माण गरिरहेकी छिन् । डीएस डिजिटलले यो फिल्म निर्माण गरेको हो ।