चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीका लागि नवलपुरबाट पनि अनुमति खुल्यो, पर्यटकको संख्यामा वृद्धि

जनपत्र
१० फाल्गुन २०७९, बुधबार ०७:३२

चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीका लागि नवलपरासी पूर्व ९नवलपुर०को अमलटारीबाट समेत प्रवेशको अनुमति खुलेको छ। अमलटारीबाट प्रवेश र सफारीको अनुमति खुलेपछि निकुञ्जमा आउने पर्यटकको संख्या बढेको छ।

अमलटारी क्षेत्रबाट निकुञ्जभित्र जंगल सफारी आउनेमा आन्तरिकसँगै बाह्य पर्यटकहरु पनि बढ्न थालेका छन्। नवलपुरको अमलटारी क्षेत्रबाट यसअघि टेम्पल टाइगर र थारु भिलेज होटलले मात्रै जंगल सफारीको निकुञ्ज प्रवेशको अनुमति पाएका थिए भने अन्य स्थानीय होटल र होमस्टेले नजिकको सामुदायिक वनमा मात्रै सफारी गराउन पाउने नियम थियो।

निकुञ्जले अमलटारीबाट टेम्पल टाइगर र थारु भिलेजबाहेक अन्य होटल व्यवसायी र होमस्टेलाई निकुञ्जभित्र जंगल सफारीको अनुमति दिएसँगै एक महिनाको अवधिमा ७७५ नेपाली र २०० विदेशीले निकुञ्जभित्र जंगल सफारी गरेको नवलपुर पर्यटन समितिका सचिव धनीराम गुरौले जानकारी दिए।

उनका अनुसार निकुञ्जभित्र जंगल सफारीका लागि पश्चिम सेक्टरअन्तर्गत रजहरको कुजौली रेन्जपोस्ट र अमलटारीबाट निकुञ्ज प्रवेश गर्ने अनुमति निकुञ्ज प्रशासनले दिएको छ। कुजौलीबाट हरेक दिन २ जिप र अमलटारीबाट ५ जिपमा निकुञ्ज प्रवेश गर्न पाउने व्यवस्था छ। निकुञ्जले तोकेकै जिपबाट मात्र जंगल सफारी जान पाइन्छ। एउटा जिपमा एक पटकमा १२ जनाले सफारी गर्न सकिने र कम्तीमा १ नेचर गाइड लैजानुपर्ने व्यवस्था छ। १ जना गाइडले १ हजार ५०० सयदेखि ३ हजारसम्म शुल्क लिने गरेका छन्।

निकुञ्ज प्रवेशका लागि नेपालीले १५०, सार्क क्षेत्रका पर्यटकले १ हजार र अन्य देशका पर्यटकले २ हजार शुल्क तिर्नुपर्छ। यो क्षेत्रबाट निकुञ्ज प्रवेश गर्ने हरेक जिपले एक पटकमा ५ हजार शुल्क तिर्नुपर्छ। सो शुल्क तिरेपछि हरेक जिप प्रवेश गराएबापत निकुञ्जलाई थप ५ हजार शुल्क तिर्नुपर्ने नियम छ।

यहाँको नारायणी नदी फराकिलो क्षेत्रमा फैलिएका कारण डुङ्गा चढेर निकुञ्ज आसपासको दृश्य अवलोकन गर्ने र नदीका चरा हेर्ने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको सचिव गुरौले बताए। पर्यटकको सङ्ख्या बढ्दै गएपछि रोजगारी पनि बढ्दै गएको र निकुञ्ज प्रवेश गर्दा पैदलयात्रीले अनिवार्य दुई नेचर गाइड लैजानुपर्ने भएकाले स्थानीय तहमा रोजगारी बढेको सचिव गुरौको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*