ग्याङस्टर भूमिकामा अनमोलको अग्नि परीक्षा
कुनै समय अभिनेता भुवन केसीको टाउको पोस्टरमा राखेको भरमा मात्रै पनि फिल्म ब्लकबस्टर हुन्थे । त्यसबेला उनको ठूलो चाम थियो । अहिले उनका छोरा अनमोलको हकमा लगभग यही अवस्था छ । डेब्यू फिल्मदेखि अभिनयको आलोचना खेप्दै आएका छन् उनले । तर, त्यसको असर उनको स्टारडममा परेको छैन । उनलाई हेर्नकै लागि भए पनि हल पुग्ने दर्शकको संख्या ठूलो छ ।
चकलेटी भूमिकामा रुचाइएका अनमोल चुनौती मोल्ने कलाकार पनि हुन् । जुन भूमिकामा दर्शकले आफूलाई स्वीकार गरेका छन्, त्योभन्दा फरक गर्ने आँट कमै कलाकारले गर्छन् । तर, अनमोलले ‘कृ’मा निभाएको एक्सन भूमिका होस् या प्रदर्शनको तयारीमा रहेको ‘छड्के २’मा निभाएको ग्याङस्टर भूमिका नै किन होस्, उनले आफूलाई चुनौती मोल्ने कलाकारको रुपमा चिनाएका छन् ।
यही फागुन १९ गतेबाट प्रदर्शन हुन लागेको ‘छड्के २’मा अनमोलको चरित्र ग्याङस्टरको छ । उनको लुक्स र गेटअप एकदमै भिन्न छ । शरीरभरि ट्याटु मात्र छ । टिजर र पोस्टर हेर्दा उनको हातमा खुँडा छुटेको छैन । उनी फिल्ममा एक ग्याङको नाइकेको रुपमा प्रस्तुत छन् । पहिलो पटक ग्याङस्टर भूमिका निर्वाह गरेका कारण यो फिल्म अनमोलका लागि अग्नि परीक्षा मानिएको छ ।
फिल्म रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथामा बनेको छ, जसको उद्धेश्य पैसाका लागि मनाङको प्राकृतिक स्रोतको संकलन गर्नु र त्यसमा आफ्नो एकाधिकार जमाउन खोज्नु हो । तीनवटा ग्याङमध्ये ग्रीन ग्याङको नाइके अनमोल हुन् । रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङबीचको लडाइँमा फिल्म केन्द्रित छ । यही बुधबार फिल्मको ट्रेलर रिलिज हुँदैछ ।
निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानको पनि अभियन छ । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेको ‘छड्के २’को कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।