वीरगञ्ज युनाइटेटलाई हराउँदै एभिनिर एफसी सेमिफाइनलमा प्रवेश
हेटौंडा/ हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फूटबल प्रतियोगितामा एभिनिर एफसी क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा वीरगञ्ज युनाइटेडलाई २–० गोलअन्तरले पराजित गर्दै क्यारुनी टोलीले अन्तिम चारमा स्थान बनाएको हो । एभिनियर एफसीको जीतमा यानिक योहाना र साबाले गोल गरेका थिए । यानिकले खेलको मिनेट ३९ र साबले ७४ औं मिनेटमा गोल गर्दै जीन सुनिश्चित गरेका हुन् । खेलको म्यान अफ दी म्याच वीरगञ्जका उमेश कार्की घोषित भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त गरेका छन् ।
निकै प्रतिस्पर्धात्मक भएको खेलको पहिलो हाफमा वीरगञ्ज युनाइटेडले राम्रो अवसर प्राप्त गरे पनि जाली भने चुमाउन सकेन । खेलमा वीरगञ्ज युनाइटेडका खेलाडी विवेक चौधरीलाई एफसी क्यामरुनका डिफेन्डरले डिबक्स नजिक फल गर्दा पाएको फ्रीकिकको अवसरलाई क्रिपा चौधरीले सदुपयोग गर्न सकेनन् । उनले प्रहार गरेको बल एफसी क्यामरुनका गोलरक्षक तासेन आलेनले पन्ज गरेर गोल हुनबाट बचाए ।
दुवै टीमले राम्रा अवसरहरू गुमाए पनि खेलको ३९ मिनेटमा एभिनिर एफसी क्यामरुनका क्पाटेन समेत रहेका योहाना ओनानाले टीमका लागि पहिलो १ गोल गर्दै खाता खोल्न सफल भए । निकै रोमाञ्चक भएको खेलको पहिलो हाफमा थप गोल हुन सकेन ।
दोस्रो हाफमा थप रणनीतिका साथ सुधारिएको खेल प्रदर्शन गरेको वीरगञ्ज युनाइटेटले राम्रा अवसरहरू प्राप्त गरे पनि गोलमा भने परिणत गर्न नसक्दा एभिनिर एफसी क्यामरुनका साबाले ७४ मिनेटमा टीमका लागि थप १ गोल गर्न सफल भए । खेलको निर्धारित समयमा वीरगञ्ज युनाइटेडले कुनै पनि गोल गर्न नसक्दा एभिनिर एफसी क्यामरुन २–० को गोलअन्तरले विजयी हुँदै सेमिफाइनलमा सिट सुरक्षित गर्न सफल हुन पुग्यो ।






