‘झिँगेदाउ’ मा आँचलको जोडी को ?

अभिनयको कहिल्यै चर्चा नभए पनि अभिनेत्री आँचल शर्माको हातमा फिल्मको कमी भने छैन । डिमान्डेड अभिनेत्रीको सूचीमा उनको नाम अग्रणी स्थानमा आउँछ । पछिल्लो पटक फिल्म ‘दात भात तरकारी’ मा देखिएकी थिइन्, उनी । यो फिल्मले बक्सअफिसमा राम्रो पैसा कमाए पनि उनको अभिनयको तारिफ भएन । हुनत, फिल्मले पनि राम्रो प्रतिक्रिया बटुल्न सकेको थिएन । यद्यपि, हलमा भने फिल्मले ५१ दिन मनायो ।
उक्त फिल्म रिलिज नहुँदै उनले ‘दुई रुपैयाँ’ टिमको नयाँ फिल्म ‘डामाडोल’ साइन गरेकी थिइन् । तर, अहिलेसम्म यो फिल्मको छायांकन सुरु हुन सकेको छैन । सम्भवतः दशैंपछि फिल्म फ्लोरमा निस्कनेछ । यसबीच, उनले नयाँ फिल्म साइन गरेकी छन् । कुनै समय एकसेएक सुपरहिट फिल्म दिएका निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको फिल्म ‘झिँगेदाउ’ मा उनको प्रवेश भएको हो ।
हिजो (बुधबार) उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । यसअघि उक्त फिल्ममा अभिनेत्री केकी अधिकारी र फिल्म ‘बुलबुल’ मा चोपेन्द्रको भूमिका निर्वाहा गरेपछि एकाएक चर्चामा आएका मुकुन भुषाल फाइनल भइसकेका छन् । फिल्ममा केकी र आँचलको प्यारालल भूमिका रहेको निर्देशक देउजाले बताए । उनका अनुसार, फिल्म महिला केन्द्रित छ ।