दोस्रो एनसिसी फुटबलको मिति सर्यो

जनपत्र
१२ माघ २०७९, बिहीबार १७:५५

हेटौंडा । न्यू कम्बाइन क्लवको आयोजनामा यही माघ १४ गतेबाट हुने भनिएको दोस्रो एनसिसी खुला फुटबल प्रतियोगिता फागुन २० बाट हुने भएको छ । आयोजकले बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको मिति करिब एक महिना पछि धकेलिएको जानकारी दिएको हो ।
स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको आयोजक संस्था मकवानपुर जिल्ला फुटबल संघका कार्यसमिति सदस्य समेत रहेका क्लवका अध्यक्ष सचिन राईले गोल्डकपका लागि प्रतियोगिता सारिएको बताए । ‘हामीले यही माघ १४ बाट खुला फुटबल प्रतियोगिता गर्न लागेका थियौं । गोल्डकपको तयारीमा लाग्नुपर्ने र फुटबल संघका अध्यक्षसहितका पदाधिकारीले हाम्रो खेल सार्न अनुरोध गरेकोले हामीले फागुन २० गतेबाट गर्ने भएका छौं’, राईले भने ।

पत्रकार सम्मेलनमा फुटबल संघका अध्यक्ष टीकाराम लामाले गोल्डकपका लागि क्लवले गर्न लागेको प्रतियोगिताको मिति सारेकोमा धन्यवाद ज्ञापन गरे । मकवानपुर जिल्लाका क्लवहरुको सहभागितामा हुने प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वाधिक गोलकर्तालाई गोल बराबरको रकम, सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने कम्बाइन्ड क्लवका सचिव उमेश तितुङले जानकारी दिए । करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता पिप्ले–क्याम्पा रंगशालामा हुनेछ । पत्रकार सम्मेलनमा क्लवका पदाधिकारीसहित फुटबल संघ कोषाध्यक्ष अमृत लुङ्बा, कार्यसमिति सदस्य दिनेश चौलागाईं, आशिष थापा लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*