सिन्धुलीमा बाढी र पहिरोमा बेपत्ता चारजना अझै भेटिएनन्

जनपत्र
८ श्रावण २०७६, बुधबार १६:२८

बाढी र पहिरोमा वेपत्ता सिन्धुलीका चारजनाको अझै पत्तो छैन्। उनीहरुको खोजिकार्य स्थानीय र प्रहरीले जारी राखेपनि फेला पार्न नसकिएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (प्रहरी उपरिक्षक) चक्रबहादुर सिंहका अनुसार गत असार २८ गते शनिबार आएको बाढी र पहिरोका कारण दुधौली नगरपालिकामा वेपत्ता ३ जना र गएको सोमबार गोलन्जोर गाउँपालिका बाढीले बगाएर वेपत्ता बनाएका एकजना गरी चारजनाको शव अझै फेला पार्न नसकिएको हो।

पहिरोले घरसहित बगाउँदा वेपत्ता भएका दुधौली नगरपालिका १२ स्थित जिनाखु बुढीटारीका हिराबहादुर पौडेलका छोरा सागर पौडेलको शव भेटिएको छैन्। ‘उनीसँगै वेपत्ता भएकी आमा ३० वर्षीया आमा सुनिता पौडेल र दिदी १० वर्षीया सविता पौडेलको आइतबार ठाकुरखोला किनारामा शव भेटिए पनि सागरको शव भने भेटिएको छैन,’ सिंहले भने। दुधौलीकै वडा नम्बर ४ डकाहाबाट कमला नदीको बाढीले बगाउँदा वेपत्ता भएका रेणु कापरीको ७ वर्षको छोरा आधी कापरी र उनकी ६० वर्षीया आमाजु मरणी कापरीको शव फेला परेको छैन्।

६ जनालाई कमला नदीको बाढीले बगाएकोमा रेणुका ३ वर्ष र १८ महिनाका दुई छोराको शव भने भेटिएको छ। रेणु र उनका देवर मिथुन कापरीलाई भने उद्धार गरिएको थियो। यसैबीच गोलन्जोर गाउँपालिका ४ किराँतेस्थित रानीखोलामा आएको बाढीले गएको सोमबार बगाउँदा वेपत्ता कुभिण्डेका १७ वर्षीय हुमराज बजगाँईको पनि शव फेला पर्न सकेको छैन्। ‘वेपत्ता सबैजनाको शव स्थानीय र प्रहरीले नियमित खोजतलास गरेपनि फेला पार्न सकिएको छैन्,’ सिंहले भने। खोला तथा नदीमा पानीको बहाव कम नभएकाले शव खोज्न थप समस्या भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*