वी.पी.को समाजवाद ! निमुखालाई न्याय, विपन्नलाई आयः नेता पौडेल

हेटौंडा, ६ साउन/नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौंडेलले वी.पी.को समाजको मूल सारंश भनेको निमुखालाई न्याय, विपन्नलाई आय रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस मकवानपुर र जननायक वी.पी. कोईराला स्मृति ट्रष्टले सोमबार वी.पी.को ३७ औं स्मृति दिवसमा आयोजना गरेको स्मृतिसभा एवं विचार गोष्ठीमा बोल्दै बरिष्ठ नेता पौडेलले वीपीको विचारलाई लतारेर देश अझैं पहुँचवाला र सोर्सफोर्सकै आडभरोसामा चलिरहेको बताउनुभयो ।
७ सालमा वीपीको नेतृत्वमा जनक्रान्ति नभएको भए अहिले देश हैदरावादको स्थितिमा पुग्ने बताउँदै नेपाललाई न्यायपूर्ण र स्वतन्त्र सार्वभौम मुलुक बनाउने जननायक वीपी राष्ट्रवाद र प्रजातन्त्रको पर्याय रहनुभएको बताउनुभयो ।

अहिलेको कम्युनिष्ट सरकार राष्ट्रवादको चर्को नारा लगाएर सत्तामा पुगेपनि ढोगीं क्रियाकलापको कारण डेढवर्षमै जनतामा चरम असन्तुष्टि पैदा भएको बताउँदै नेता पौडेलले यो सरकार सुरुबाटै बाटो विराएर झुटा कुरा गर्दै भ्रष्टाचारीहरुको भक्तिभावमा लागेकाले जनताले भरोसा गर्न छाडेको बताउनुभएको छ ।
ट्रष्टका अध्यक्ष श्रीहर्ष कोईरालाको सभाध्यक्षतामा भएको विचार गोष्ठीमा प्रमूख अतिथि नेता पौडेलले कांग्रेस आफ्ना कमीकमजोरीका कारण देशैभर हार व्यहोर्न परेको बताउँदै अव आम कांग्रेसजनले जनताले भरोसा किन गरेनन् भन्ने आत्मसमिक्षा गर्न जरुरी रहेको बताउनुभयो ।

कांग्रेस अव आफ्ना गल्ती कमजोरीलाई आत्मनिरिक्षण गरेर जनताको भरोसा जित्न नेता र कार्यकर्ता सबै लाग्नुपर्ने बताउँदै नेता पौडेलले वीपीले विचारमा सम्पूर्ण कांग्रेसजन लागे विश्वबाटै लोप भएको कम्युनिष्ट नेपालबाटसमेत निमिट्यान्न हुने बताउनुभएको छ ।
त्यस्तै केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले आजपति प्रजातन्त्र र समाजवाद अफ्ठ्यारोमा रहेकाले वीपीको आदर्श र सिद्धान्तलाई पछ्याएर कम्युनिष्टसंग लड्ने बेला आएको बताउनुभएको छ ।

नेतृ डिनाले निर्वाचनमा टिकट नपाएका कारण वीपीको आदर्श र सिद्धान्तलाई विर्सेर जिल्लातहका नेताहरुनै घातप्रतिघातमा उत्रेका उदाहरणहरु प्रशस्तै रहेकाले अव कांग्रेसका नेताहरु सच्चिनु जरुरी रहेको बताउनुभएको छ ।
त्यसैगरी कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले साम्यवाद र पूजिँवादको बीचबाट समाजवाद ल्याउनुभएका वीपीको आदर्श र सिद्धान्तबाट अहिले कांग्रेसका नेता कार्यकर्ता पछि हटेको भान भएको बताउनभएको छ ।

नेता बानियाँले वीपीको विचारलाई भ्रम सिर्जना गरी सुकिलामुकिला र ठगी खाने खाने र मागी खानेको जमात कांग्रेसमा बढेको बताउँदै वीपीको विचारलाई अनुशरण गर्दै काग्रेसका नेता कार्यकर्ता सच्चिनु जरुरी रहेको बताउनुभयो ।
जनतामा धनी र गरिबको खाडल मेटाउन र पार्टीभित्र रहेको असन्तुष्टि मेटाउनका लागि वीपीको विचार अनुशरण गर्दै कांग्रेसले ठोस नीति लिएर अघि बढ्नुपर्ने नेता बानियाँको धारणा रहेको थियो ।

प्राध्यापक डा. एकनारायण पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा ट्रष्टका महासचिव रामचन्द्र पोख्रेल, निवर्तमान मकवानपुर पार्टी सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, प्रदेशसभा सदस्य जीवन डंगोल, महासमिति सदस्यद्वय उमा दाहाल र रिता खनाल, पार्टीका प्रवक्ता प्रदिप कोईराला, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, शिक्षक संघ जिल्ला अध्यक्ष रामकुमार अधिकारीले वीपीको योगदानको बारेमा बोल्नुभएको थियो ।

प्राध्यापक कृष्णप्रसाद दाहालले संचालन गर्नुभएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए भने उनीहरुलाई बरिष्ठ नेता पौंडेलले सदस्यता प्रदान गर्नुभएको थियो । हेटौंडा टाईम्सबाट ।