मकवानपुरको वाग्मती खोलाको बाढीले ४०० बिघा बगरमा परिणत

जनपत्र
५ श्रावण २०७६, आईतवार ०७:४१

हेटौंडा — वाग्मती खोलाको बाढीले मकवानपुरको वाग्मती गाउँपालिकाको करिब ४ सय बिघा जमिनमा बगरमा परिणत गरिदिएको छ । असार २६ यताको अविरल वर्षासँगै आएको बाढीले वाग्मती गाउँपालिका—५ को जमिन बगरमा परिणत गरिदिएको हो । ‘धान रोपेको साता नबित्दै वाग्मतीको बाढीले सबैमा क्षति पुर्‍याउँदै खेत बगरमा परिणत गरिदियो,’ स्थानीय कृषक तिलक माझीले भने, ‘यस भेगको करिब ३ सय बिघा जमिनमा अहिले वाग्मती खोला बगिरहेको छ ।’

जमिनको संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएका तटबन्धन नै भत्काएर बाढी नै धान रोपेको खेतमा पसेको थियो । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिका—५ को पाखे, डाँफे, खाक्सीघारी, बगेरी, रिपैनीलगायत क्षेत्रको करिब ३ सय बिघा खेत बाढीले बगरमा परिणत गरिदियो स्थानीयवासी माझीले भने ।

बाढी गर्दा उक्त क्षेत्रको ३ सय ७० घरधुरीका बासिन्दा पीडामा छन् । उत्पादन गरेर वर्ष दिन खाने खेत नै बगाएर लगेकाले उनीहरू समस्यामा परेका छन् । काठमाडौंबाटफोहोर मैलासहित बोकेर ल्याउने वाग्मती खोलाको बाढीले झुरझुर, भोर्लेनी र पाँचपाण्डव क्षेत्रको सय बिघाभन्दा बढी धान खेत बाढीले बगाएको छ । उक्त बाढीलेधरान—चतरा सडककोपाँचपाण्डवमा निर्माणाधीन पुल पनि भत्काइदिएको छ ।

यसैगरी, बाढीले मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाको विभिन्न क्षेत्रमा आएको बाढीले चार हजार रोपनी जग्गामा लगाएको तरकारीखेती नष्ट गरिदिएको छ । बाढीले तरकारीखेती मात्र करिब साढे ६ करोड मूल्य बराबरको नष्ट भएका थाहा नगरपालिकाका मेयर लवशेरविष्टले बताए ।

‘६ सय १० रोपनी जग्गामा लगाएको खाद्यबाली पनि बाढीले नष्ट गर्‍यो,’ उनले भने । बाढीले मोटरबाटो क्षतविक्षत् बनाएकाले थाहा नपाका ७ र ८ नम्बरका कृषकले उत्पादन गरेको तरकारी बजार ल्याउनपाएका छैनन् । एक साताअघि आएको बाढीले उक्त क्षेत्रको मोटरबाटो बगाएको थियो । आजको कान्तिपुर दैनिकमा छापिएको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*