आर्यन र मिरुनाको ‘च च हुई’ रिलिज घोषणा

लभर ब्वाईको भूमिकामा सर्वाधिक रुचाइएका चकलेटी हिरो आर्यन सिग्देल र ‘लालपूर्जा’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी मिरुना मगरले अनस्क्रिन रोमान्स गरेको फिल्म ‘च च हुई’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि कात्तिक २९ मा आउने तयारी भएता पनि अभिनेता सौगात मल्लको फिल्म ‘माछा माछा’ का कारण यो फिल्म एक हप्ता पछाडि धकलिएको छ ।
बिहीबार निर्माता अमृत घोले लामा र वितरक कम्पनी एफडीबीच फिल्मलाई मंसिर ६ गते प्रदर्शन गर्ने सहमति भएको छ । अहिलेसम्म उक्त मितिमा अरु कुनै फिल्मले प्रदर्शन मिति घोषणा गरेका छैनन् । तर, ‘च च हुई’ ले सोलो रिलिज पाउने सम्भावना भने न्यून छ । फरक धारका फिल्म (त्यान्द्रो, साढे सात, लेटर, अनागत) मा रमाइरहेका साम्तेन भुटियाले यो फिल्मको निर्देशन गरेका हुन् ।