पहिलो पटक फिल्मको गीत गाउँदै आयुष

भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा चौथो स्थान हासिल गर्न सफल भएका आयुष केसीले पहिलो पटक नेपाली फिल्मको गीतमा आफ्नो आवाज भर्ने भएका छन् । केही दिन अगाडि ‘स्व. वासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार’ पाएका उनले ‘नाईं नभन्नू ल’ फेम्ड चाइल्ड आर्टिस्ट अनुभव रेग्मीका लागि गीत गाउन लागेका हुन् ।
भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हजार जुनीसम्म’ मा बाल कलाकार अनुभवको अभिनय छ । आयुषले गाउने गीतको भिडियोमा उनी फिचर्ड हुने निर्देशक विकासराज आचार्यले जानकारी दिए । उनले फिल्मको टाइटल गीत ‘हजार जुनीसम्म’ मा आयुषले आवाज भर्ने बताए । उक्त गीतले आयुषलाई थप उचाइमा पुर्याउने उनको विश्वास छ ।