मकवानपुरको कुलेखानी पूर्ण क्षमतामा सञ्चालनः भारतबाट आउने बिजुली घट्यो

हेटौंडा । कुलेखानी जलाशयमा पानी भरिएपछि पूर्ण क्षमतामा चलाइएको छ । जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो ६० मेगावाट र दोस्रो ३२ मेगावाट पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
कुलेखानी पुर्ण क्षमतामा चलेको र अविरल वर्षाका कारण तराईमा विद्युत माग घटेको कारण प्राधिकरणले अहिले ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर प्रसारण लाइनबाट जम्मा १ सय ५० मेगावाट विद्युत् आयात गरिरहेको छ ।
अहिले देशभरको विद्युत्को माग करिब ६ सय मेगावाट मात्रै छ । गएको वर्षभरिमा जलाशयमा पानीको सतह १५ सय २६ मीटर रहेकोमा यस वर्ष सोमबार बिहानसम्ममा १५ सय २६ मीटर पुगेको छ । सोमबार बिहान साढे पाँच बजे १५ सय २७ मीटर रहेको जलाशयको पानीको सतह बढेर १५ सय २७ मीटर पुगेको हो । जलाशयमा अधिकतम १५ सय ३१ मीटरसम्म मात्रै पानी भण्डारण हुन सक्छ ।
कुलेखानी क्षेत्रमा लगातार परिरहेको पानीका कारण तीन–चार दिनमै जलाशयमा पानीको सतह करिब २१ मीटर बढेको छ । ‘पानी पर्न भरखर सुरु भएको छ, विगतका वर्षमा असोजमा मात्रै भरिने जलाशय यस वर्ष तीन महिना अगाडि नै भरियो,’ उहाँले भन्नुभयो, ‘विगतमा बर्खामा कुलेखानी विद्युत्गृह चल्दैन थियो, अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाई भारततर्फबाट हुने विद्युत्को आयातलाई घटाएका छौं ।’
कुलेखानी पहिलो विद्युतगृह पूर्ण क्षमतामा चलाउँदा एक घण्टामा जलाशयको पानीको सतह २ सेन्टिमीटर मात्रै घट्ने कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । कुलेखानी बर्खाको पानी जम्मा गरी मुख्य रुपमा विद्युत्को अत्याधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो । विद्युत्को आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ ।