भुवन र रीमाको ‘मिस्टर नेपाली’ प्याकअप
अभिनेता भुवन केसीले करीब ७ वर्षपछि अभिनयमा कमब्याक गरेको फिल्म ‘मिस्टर नेपाली’ को सुटिङ प्याकअप भएको छ । आइतबार राजधानीमा आयोजित इन्डक्ल्याप पार्टीमा क्यामेरा ‘अन’ भएको ४५ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्देशक देव भुषालले जानकारी दिए । फिल्म तिहारको छेकोमा प्रदर्शनमा आउने बताइएको छ । तर, प्रदर्शन मिति भने तोकिएको छैन ।
देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मको छायांकन नवलपरासी र काठमाण्डौमा गरिएको हो । फिल्ममा अभिनेता भुवन केसी दोहोरो भूमिकामा छन् । उनले फिल्म करिअरमा पहिलो पटक दोहोरो भूमिका निभाएका हुन् । फिल्ममा उनी छोरा र पिताको भूमिकामा छन् । उनले निर्वाहा गरेको दुईमध्ये एक भूमिका नेगेटिभ छ । भुवन फिल्म राम्रो बनेको बताउँछन् ।