मकवानपुरका स्थानीय तहमा सडक, बिजुली, मोवाइल सेवा अवरुद्ध

जनपत्र
३० असार २०७६, सोमबार ११:२९

हेटौंडा । मकवानपुरको गाउँ–गाउँमा सडक अवरुद्ध भएको छ । बिधुतका पोल ठाउँठाउँमा लडेर अवरुद्ध गाउँ अन्धकार भएको छ । मोवाइलका टाओर नटिप्ने भएका छन् । इन्टरनेटमा पनि समस्या आएको छ ।

मकवानपुरको थाहा नगरपालिका, गढी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, राक्सीराङ गाउँपालिका, बागमती गाउँपालिका लगायतका क्षेत्रमा सडक अबरुद्ध हुनुका साथै बिधुतका पोल ठाउँठाउँमा पहिरोका कारण ढलेका छन् । स्थानीय तहका केही स्थानमा सडक संचालनमा आएपनि धेरैजसो गाउँ र टोलमा जाने सडक अवरुद्ध भएका छन् ।

आज मौसम खुलेकाले अवरुद्ध भएका स्थानको बिधुतका पोल उठाइने र बिधुत सेवा सञ्चालनमा ल्याइने मकवामनपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो । बिशेषगरी थाहा नगरपालिकाका सबैजसो क्षेत्रमा बिधुत र मोवाइलमा समेत समस्या आएको स्थानीय वासिन्दाहरुले बताएका छन् । लगातारको वर्षाका कारण अवरुद्ध ग्रामिण सडक खुलाउन केही दिन लाग्ने र बिधुत भने छिट्टै सञ्चालनमा ल्याइने प्रजिअ तामाङले बताउनुभयो ।

मकवापनुरका ग्रामिण सडकहरु अवरुद्ध हुँदा हेटौंडा आउने र हेटौंडाबाट गाउँजानका लागि समस्या भएको छ । सडक अवरुद्ध हुँदा गाउँमा बिरामी परिहालेमा एमुलेन्स समेत जानका लागि समस्या भएको स्थानीय वासिन्दाहरुले गुनासो गरेका छन् । थाहा नगरपालिकामा भुङ्दालको सडक बगाएका कारण धेरैनै समस्या भएको छ । थाहाको खैटेखोला पुलको छेउ भत्किीएपछी सवारी साधन ओहोर दोहोर गर्नका लागि झनै समस्या भएको छ ।

कैलाश गाउँपालिका जाने सडकको यात्रा सबै भन्दा कठिन भउको छ । त्रिभूवनराजपथको चुनियाँदेखि नामटार हुँदै कालिकाटारसम्म पुग्ने सडकमा भारी बर्षाका कारण सयौँ ठाउँमा पहिरो गएपछि यस्तो अबस्था आएको हो ।
१५ दिनअघि मात्रै डेढ घण्टामा हेटौँडाबाट कालिकाटार पुग्नेगरेका यात्रुहरु अहिले चुनियाँमै सवारी साधन राखेर यात्रा गर्नुपर्ने बाध्यतामा छन् । पहिरो छल्दै र पन्छाउँदै हिँड्दा दिनभर हिँड्नुपर्ने अबस्था रहेको छ ।

निरन्तर परेको बर्षाले सयौँ स्थानमा पहिरो गएपछि यात्रा गर्न गर्न समस्या परेको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताउनुभयो । ‘यसपटक चुनिया–नामटार खण्ड फराकिलो पारिएकाले कच्ची सडकमा पहिरो गएका छन्’,–अध्यक्ष मुक्तानले भन्नुभयो–‘गाउँपालिकाले नै सफा गर्ने हो भने यो बाटो पुनः बनाउनका लागि डेढ महिना लाग्न सक्छ ।’

गाउँपालिकाले मात्रै सडक मर्मत गर्न नसक्ने भएकाले प्रदेश सरकारसँग पनि अनौपचारिक कुराकानी भइरहेको मुक्तानले बताउनुभयो । ‘गाउँपालिका केन्द्र र प्रदेशको राजधानी जोड्ने बाटोलाई चाँडै सुचारु गर्न नसके दैनिक उपभोग्य सामग्रीहरु तथा कृषि उपजहरुको ढुवानीका लागि समस्या पर्नेछ’, अध्यक्ष मुक्तान भन्नुहुन्छ ।

त्यसो त कैलाश गाउँपालिकाको माथिल्लो भेग अर्थात वडा नं १, २, ५ र ६ नं वडामा जाने सडकहरु पनि बर्षाका कारण ध्वस्त भएको छ । बाटोहरुमा बर्षाका कारण अबरोध आएपछि खुर्सानी, काउली, बन्दा लगायतका तरकारीहरु ढुवानी गर्नका लागि समस्या परेको वडा नं ५ का वडाध्यक्ष छेकु लामाले बताए । वडा नं २ को छ्याङ्दुङदेखि सानोडाँडाखर्क हुँदै भार्ता र भार्ता हुँदै कैलाश गाउँपालिकाको केन्द्र कालिकाटार आउने मुख्य बाटोमा समेत दर्जनौ स्थानमा पहिरो गएका छन् ।

तस्बिर– कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान र थाहाबाट मञ्जरी बलामीको फेलबुकबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*