जनतासँगको गठबन्धनले दलको गठबन्धनलाई पराजित गर्न गाह्रो भएन : दीपकबहादुर सिंह

जनपत्र
१२ मंसिर २०७९, सोमबार ०८:०२

जब निर्वाचन सुरु हुन्छ तब सधैं चर्चामा आइरहने नाम हो दीपकबहादुर सिंह । राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका उनले २०५४ सालदेखि निर्वाचनमा उम्मेदवारी दर्ता गराइरहे । तर, चार पटकसम्म सिंह झिनो मतान्तरले पराजित भइरहे । पाँचौंपटकमा भने उनले सफलताको स्वाद चाख्न पाएका छन् ।

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डिनालाई २३ सय ९३ मतान्तरले हराउँदै सिंहले संसदको यात्रा तय गरेका हुन् । उनी २७ हजार ८ सय १६ मतले विजयी भए हुँदा पराजित उपाध्यायले  २५ हजार ४ सय २३ मत ल्याइन् । सूर्य चुनाव चिन्हबाट उम्मेदवारी दिएका कमल थापाले २५ हजार ४ सय २० मत ल्याए ।

यसअघिका निर्वाचनमा पराजय बेहोरे पनि सिंह कहिले पनि विचलित भएनन् । बरु उनी राप्रपाबाटै चुनाव जित्ने लक्ष्यका साथ तयारीमा जुटिरहे । विभिन्न संघसंस्थामा आबद्ध सिंह सुरुवातदेखि नै राप्रपाको संस्थापन पक्षमा छन् । उमेरले पाको भए पनि एजेन्डा समयसापक्ष भएकाले निर्वाचन जितेको सिंहको भर्ना छ । प्रस्तुत छ तिनै नवनिर्वाचित सांसद सिंहसँग सुनिता विष्टले गरेको कुराकानी :

पाँचौंपटकमा दुईवटा गठबन्धनलाई नै हराएर संघीय संसदको निर्वाचन जित्नुभयो, कस्तो अनुभूति गर्दै हुनुहुन्छ?

जनताले यो पटक सही निर्णय गरेको मैले महसुस गरेँ । हिजोका निर्वाचनमा पनि मैले झिनो मतले पराजित हुन पर्नु त्यो प्राविधिक त्रुटी थियो । अहिले आएर जुन परिस्थिति र माहोलमा चुनाव हुन गएको छ । जनताले मलाई विकल्पको रूपमा सम्झिएर मत दिएर विजय गराए । म यस क्षेत्रका सम्पूर्ण मतदातालाई धन्यवाद दिन चाहन्छु ।

राप्रपाको जनमत मकवानपुर त्यति छैन, तपाईँको जितमा अरू पार्टीका मतदाताले पनि सहयोग गरे जस्तो लाग्छ?  

मैले त पहिलेदेखि नै भन्ने गरेको थिए । पाँच दलीय गठबन्धन र नेकपा एमालेको गठबन्धन सत्ता प्राप्तिको लागि मात्रैको गठबन्धन हो । तर, मेरो गठबन्धन मकवानपुरे जनतासँग र जिल्लाका ठूला नेताहरू जो भष्टचारको विरोधी छन्, विकासप्रेमी छन्, अझ मकवानपुरको समृद्धि र उन्नतीको लागि राम्रो सोच राखेका छन्, उहाँहरूसँग मेरो मन र मुटुको पवित्र गठबन्धन थियो । आज त्यही पवित्र गठबन्धनले मलाई यो ठाउँमा ल्याएको छ । मेरो गठबन्धन सत्ताको लोभमा थिएन । मकवानपुरे जनताको शिक्षा, स्वास्थ्य र रोजगारी लगायतको जिम्मेवारी निर्वाह गर्नका लागि म विजयी भएको छु ।

मतगणना सुरु भएदेखि तेस्रो स्थानमा हुनुहुन्थ्यो । गणनाको अन्तिम दिनमा अचानक जित निकाल्नुभयो । के नतिजाको यस्तै अपेक्षा गर्नु भएको थियो?  

पक्कै पनि जित्छु जस्तो लागेको थियो । मतगणनाको दोस्रो दिनतिर हेटौंडा उपमहानगरपािलको २/३ वटा वडाको मतगणनाको नतिजा जब मैले पाएँ । त्यसपछि लागेको थियो म जित्छु । नगरको मतले मलाई जिताउँछ । मैले मेरा शुभचिन्तकहरूलाई पनि भनेको थिएँ । तिमीहरू नआत्तिनु म यो चुनाव जित्छु । तर, कसैलाई विश्वास लागिरहेको थिएन । नगरका मैले सोचेभन्दा पनि धेरै मत पाएँ । साँच्चै भन्ने हो भने यस क्षेत्रका जनताले मेरो भगवान बनेर मलाई जिताइदिनुभयो । म सधैं उहाँहरूको ऋणी हुनेछु ।

अब संसदमा यस क्षेत्रका कस्ता मुद्दालाई उठान गर्नुहुन्छ?

मेरो उम्मेदवारी राष्ट्र र राष्ट्रियताको लागि थियो । जुन हिसाबबाट अहिले विभिन्न विधेयकहरू, सन्धि/सम्झौता हुन गइरहेका छन् । त्यो राष्ट्रहितमा छैन । यो विषयलाई जनताहरूले पनि मन पराइरहनुु भएको छैन । त्यसैले यस क्षेत्रका जनताले देशको नियम र कानुन बनाउने ठाउँमा पुर्याउनको लागि मलाई जिताएर मलाई सदनमा पठाउनुभएको छ ।

मकवानपुरबाट यसअघिदेखि लालपुर्जाको आश देखाउँदै तीन/चारपटक सत्तामा पुगेकाले पनि लालपुर्जा दिन सकेन । आज जनताहरू वाक्कदिक्क भइसके । राष्ट्रियताको कुरामा पनि त्यही छ । हेटौंडा हस्पिटल रेफर सेन्टरको रूपमा विकसित भइरहेको छ । स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने कुरालाई पनि प्राथमिकतामा राखेको छु । म नीति निर्माण बनाउने ठाउँमा जाने भएकोले मेरो पहिलो धर्म पनि त्यही हुनेछ ।

समग्र देशका मतदाताले परिवर्तन खोजेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि महत्वका साथ जिताएका छन् । तपाईँ राजावादी दल भएको नाताले यसलाई कसरी लिनुभएको छ?

होइन म एकदमै खुुसी छु । यो खुसीको कुरा पनि हो । अहिले जनताहरू ठूला राजनीतिक दलसँग वाक्कदिक्क भइसके । युथहरूले आफ्नो भविष्य देख्न छोडिसके । कोही पाँचपटक प्रधानमन्त्री बनिसकेका छन् । ओली जी पनि पटक-पटक प्रधानमन्त्री भइसक्नुभयो । दुवैजना अशक्त छन्, बिरामी भएर अस्पतालको बास बसेर राष्ट्र चलाउन परिरहेको अवस्था छ । चितवनको माडीमा मोदी जी आउँदा प्रधानमन्त्रीलाई हात पाखुरा तानेर उचाल्नुपर्ने दिन आएको छ । यस्तै दृश्यहरूलाई हेरेर नेपाली जनताले पनि चेन्ज चाहेको छ । आज रवि लामिछानेको पार्टीले सानदार मत ल्याएर चुनौती दिएको छ । मेरो तर्फबाट शुभकामना पनि दिन चाहन्छु ।

तपाईँको इच्छा सांसद मात्रै कि सरकारमा सहभागी हुने पनि? यसबारे पार्टीमा केही सल्लाह भएको छ? 

साना दलहरूसँग गठबन्धन गर्दा सरकारमा जान सम्भव रहँदैन । ठूला दलहरूबाट प्रस्ताव आउँदा मिलेर जाने छलफल भइरहेको छ । यद्यपि, अहिले नै यो पार्टीसँग मिलेर जाने पूर्वतयारी भने भएको छैन । सरकारमा जाने कुरामा मैले मेरो व्यक्तिगत कुरा गर्ने हो भने हामी गठबन्धन गरेर सरकारमा जान हुँदैन । जो ठूला दल छन् । जो सरकारमा जान्छन् उहाँहरूलाई पूर्ण समर्थन गर्छौँ । तर, उहाँहरूले हाम्रो केही बुँदाहरूलाई भने उहाँहरूले पनि समर्थन गर्नुपर्छ । राष्ट्रहित र जनहितको सन्दर्भमा सम्झौता भएको खण्डामा हामी उहाँहरूलाई सम्झौता गर्छौँ । तर, यो कुरामा हिजोको दिनहरूमा जस्तै दास प्रवृत्ति देखियो भने हामी कोहीलाई पनि समर्थन गर्दैनौँ त्यसकाविरुद्ध हामी सडकमै उत्रिनेछौँ ।

तपाईँले मकवानपुर–१ बाट जितिरहँदा तपाईँसँगै प्रतिस्पर्धा गरेका कमल थापा जो सूर्य चिन्हमा निर्वाचन लडेर पराजित हुनुभयो । उहाँ अब राप्रपामै फर्किनुहुन्छ भन्ने चर्चा छ । यो विषयमा के भन्नुहुन्छ?  

त्यस्तो कुरा त भएको छैन । तर, राप्रपाको ढोका सदैव खुल्ला छ । उहाँ मात्रै होइन जो आए पनि रेड कार्पेट राखेर स्वागत गर्छु । मसँग चाहिँ त्यस्तो कुरा भएको छैन । र, उहाँले हारेपछि मलाई शुभकामना बधाई दिनुभयो । मैले धन्यवाद दाइ भने । त्योबाहेक राजनीतिक कुरा भएको पनि छैन । भर्खरै निर्वाचित भएको कारण यस्ता विषयमा छलफल गर्न पाएको पनि छैन । पछि भने यो विषयमा छलफल गर्नेछौँ ।

नेताहरू जितेपछि गाउँ नफर्किने प्रवृत्तिले मतदाता दिक्क छन् । तपाईँ पनि त्यसकै निरन्तरता नदिनुहोला भनेर कसरी पत्याउने? 

सबै नेता उस्तै हुनुपर्छ भन्ने छैन । अरूभन्दा मेरो सोचाइ फरक भएकै कारण जनताले अनुमोदन गरेका छन् । मलाई जसरी पनि चुनाव जित्नु थियो भने पैसा मज्जाले खर्च गर्न सक्थे । भोट किनेर भए पनि अघिल्ला निर्वाचनमा विजयी भइरहेको हुन्थेँ होला । एक्लै निर्वाचन लड्दा हारियो भनेर कमल थापा जस्तै गरिकन म ठूला नेताहरूको शरणमा पुगेर गठबन्धन गर्न जान्थेँ होला । तर, मलाई जतिबेला जनताले पत्याउँछन् । त्यहीबेला मात्रै मेरो मनले शान्ति पाउँछ भन्ने ठानेर यो दिनको पर्खाइमा कुरिरहेको थिएँ । आज आएर यो दिन पनि सफल भयो । तर, म माननीय भए भन्दैमा राजा बनेर बस्दिनँ । म प्रत्येक २ महिनाको बीचमा सबै मतदाताको गुनासो सुन्न गाउँगाउँमै पुग्ने छु । मलाई उहाँहरूले प्रतिनिधि चुनेर पठाउनुभएको छ । म उहाँहरूको विश्वासलाई घात हुन दिन्नँ । गत वैशाखको निर्वाचन हारे पनि मैले कसैलाई गुनासो गरिनँ । सबैलाई धन्यवाद दिन घरघरमै पुगेँ । अहिले त जिताउनुभएको छ । मेरो हरेक दिन मतदातासँग भेट भइरहने छ । फरबधारबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*