पाँच वर्ष जनताको सेवक बनेर काम गर्ने छु–महेश बर्तौला (भिडियो अन्तर्वार्ता)

जनपत्र
१० मंसिर २०७९, शनिबार १०:३७

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ मा बिरोध खतिवडालाई पराजित गर्दै बिजयी हुनु भएका महेश कुमार वर्तौलाले आफु पाँच वर्ष जनताको सेवक भएर काम गर्ने वताउनु भएको छ । जनपत्र डटकम संगको भिडियो कुराकानीमा नव निर्वाचित बर्तौलाले निति निर्माणको कामसंगै आफ्नो निर्वाचन क्षेत्रमा परेका हरेक समस्यामा नागरिकसंगै हुने बताए ।

चुनावमा गरेका प्रतिवद्धताहरु पाँच वर्ष भित्रमा पुरा गर्नका लागि आफुले अहिलेबाटनै काम सुरु गरेको बताए । मकवानपुरको मकवानपुरगढी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१, ११ लगायतका स्थानमा आम मतदाताहरुलाई घरघरमै पुगेर धन्यवाद दिर्दै यो अभियान आफ्ना क्षेत्रका सबैजसो वडामा सकेर जनताका समस्याहरुलाई पुरा गर्ने अभियानमा लाग्ने बताए ।

आफ्नो क्षेत्रमा पूर्वाधारका समस्या संगै नीति निर्माण गरेर पुरा गर्ने हरेक काममा जनताको साथमै रहने बताए ।  संसदीय निर्वाचनमा मकवानपुरका कम्युनिस्ट नेताहरूमध्ये सबैभन्दा भाग्यमानी मानिएका विरोध खतिवडाको अपराजित यात्रामा महेश बर्तौलाकै कारण पूर्ण विराम लागेको छ ।

२०४६ सालमा बहुदल स्थापनापछिका सबै चुनाव जित्दै आएका पूर्व स्वास्थ्यमन्त्री खतिवडालाई ३१ वर्षपछि बर्तौलाले रोकिएका हुन् । २०४८ सालदेखि संसदीय निर्वाचन जित्दै आएका उनी २०७४ मा पनि निर्वाचित भएका थिए । २०३५ सालदेखि सक्रिय राजनीतिमा थिए खतिवडा । पहिलोपटक उनी २०४८ सालमा भएको आमनिर्वाचनमा विजयी भएका थिए । जिल्लामा कम्युनिस्टहरूको रापताप बढ्दै गइरहेका बेला उनले जित्न थालेका थिए ।

त्यसपछि २०७४ सम्म आइपुग्दा पनि खतिवडाले चुनाव जितिरहे । उनले चुनाव मात्रै जित्दै आएका थिएनन्, उठेकामध्ये कुनै पनि निर्वाचन नहार्ने थोरै नेताहरूको रेकर्डमा नामसमेत लेखाएका थिए । खतिवडाले हालसम्म चार वटा निर्वाचन जितेका छन् । उनी २०४८, ०५१, ०५६ र ०७४ मा गरी चार पटक चुनिए । उनले २०६४ र २०७० मा भएको पहिलो र दोस्रो संविधानसभा(व्यवस्थापिका संसद्को चुनावमा भने भाग लिएनन् ।

तर, पाँचौँ पटकको प्रयासमा भने उनको अपराजित चुनावी यात्रामा बर्तौलाका कारण रोक लाग्यो । खतिवडाको अपराजित यात्रामा पूर्ण विराम लगाउने पनि उनकै राजनीतिक चेला बने । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का खतिवडा र नेकपा एमालेका बर्तौला प्रतिस्पर्धामा थिए । बर्तौलाले आफ्नो पहिलो प्रयासमा खतिवडालाई ४ हजार ५ सय २० मतान्तरले हराएका हुन् ।

कुल खसेको मत ८६ हजार ३ सय १ मा बर्तौलाले ३४ हजार ९ सय १६ मत ल्याएका छन् । खतिवडाले ३० हजार ३ सय ९६ मत मात्रै पाए । बदर मत ४ हजार १ सय २ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाउँदा राप्रपाका राजन मैनालीले २ हजार १ सय ९४ मत प्राप्त गरे ।

विद्यार्थी राजनीतिबाट २०७८ सालमा मात्रै पार्टीको राजनीतिमा प्रवेश गरेका बर्तौला पहिलोपल्ट संसदीय चुनाव लडेका हुन् । बर्तौला हाल एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचारप्रसार विभाग प्रमुख छन् । २०७४ मा खतिवडालाई चुनाव जिताउन बर्तौला पनि मैदानमा थिए । तर, त्यसको ठीक पाँच वर्षपछि गुरु(चेला नै एकअर्काको प्रतिस्पर्धी बने । उनीहरू छुट्टिनुमा पार्टी विभाजन प्रमुख कारक थियो । एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीमा लागेपछि खतिवडा ३० वर्षको राजनीतिमा पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्री बने ।

पार्टी फुटेपछि मन्त्री बने पनि खतिवडाले आफ्नो पाँचौ चुनावी प्रतिस्पर्धा पक्षमा पार्न सकेनन् । क्षेत्र नम्बर २ मा गठबन्धनको मत करिब ५८ हजारको हाराहारीमा थियो । स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा नेपाली कांग्रेसको ३२ हजार, नेकपा माओवादी केन्द्रको २२ हजार र एकीकृत समाजवादीको करिब ३ हजार मत थियो । जसमा नेकपा एमालेको मत ३६ हजार ५ सयभन्दा बढी थियो । अंक गणितमा खतिवडा अगाडि देखिए पनि निर्वाचनको नतिजामा बर्तौलाले बाजी मारे ।

यस सम्वन्धी बिस्तृत अन्तरवार्ता सुन्नका लागि जनपत्र टिभीको लिन्कमा गएर हेर्न सक्नुहुने छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*