किन विवादित बन्यो राष्ट्रिय अवार्ड ?

ष्ट्रप्रमुखको हातबाट प्रदान गरिने देशको सबैभन्दा गरिमामय ‘राष्ट्रिय चलचित्र पुरस्कार’ सधैं हेलत्वमा पर्दै आएको छ । राष्ट्रले बेवास्ता गरेको यो अवार्डको सुरुवात तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष शम्भुजित बाँस्कोटाले २०६२ असार २७ मा नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तत्कालीन राष्ट्रप्रमुख ज्ञानेन्द्र शाहलाई ल्याएर भएको थियो । तर, त्यसपछि राष्ट्रिय अवार्ड निरन्तर रुपमा हुन सकेको छैन ।
साल २०६२ पछि चार वर्षको अवार्ड एकैपटक ‘होलसेल’ मा २०६५ सालमा प्रदान गरियो । त्यसपछि तत्कालीन बोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताले २०६७ देखि २०७० सम्म गरी चार वर्षको अवार्ड राष्ट्रपति रामवरण यादवको हातबाट प्रदान गरे । तत्कालीन बोर्ड अध्यक्ष राजकुमार राईले पनि आफ्नो कार्यकालमा २०७१ र २०७२ को राष्ट्रिय अवार्ड गर्न सफल भए । तर, त्यसपछि तीन वर्ष राष्ट्रपतिले समय नदिँदा अवार्ड नै हुन सकेन ।
निकिता पौडेलले अध्यक्षबाट राजीनामा दिएपछि बोर्ड अध्यक्षमा नियुक्त भएका केशव भट्टराईको सामुन्ने रोकेर बसेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ गर्नुपर्ने ठूलो चुनौती थियो । अन्ततः उनले तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय अवार्ड राष्ट्रप्रमुख विद्यादेवी भण्डारीको उपस्थितिमा सम्पन्न गरेका छन्, शुक्रबार साँझ राष्ट्रपति निवासमा । यसलाई अध्यक्ष भट्टराईको ठूलो सफलता मानिएको छ । तर, दुर्भाग्य ! सदाझैँ यसपटक पनि राष्ट्रिय अवार्ड विवादमुक्त हुन सकेन ।