प्रदेश ३ का योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा दिने तयारी
हेटौंडा । प्रदेश नम्बर ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले राजीनामा दिने तयारी गर्नुभएको छ । नीति तथा योजना आयोगलाई सुन्यको अवस्थाबाट अहिलेको अवस्था सम्म ल्याएकाले अब भने आयोगको उपाध्यक्षबाट छोड्ने तयारी गर्नुभएको हो । आयोगको उपाध्यक्षबाट मौखिक रुपमा राजीनामा दिने भनेर मुख्यमन्त्री डोरमणि पौडेललाई जानकारी गराइसक्नु भएको छ ।
प्रदेश नीति तथा योजना आयोग गठन भएको एक वर्षको अवधिमा सुन्यको अवस्थाबाट अहिलेको अवस्था सम्म ल्याउनका लागि उपाध्यक्ष देवकोटाको नेतृत्वमा धेरै काम भएका छन् । लिखित रुपमा राजिनामा नवुझाएको बताउँदै डाक्टर देवकोटाले भन्नुभयो–‘निकै कठिन अवस्थाबाट नीति तथा योजना आयोगलाई अहिलेको अवस्था सम्म ल्याए । पहिले आयोगका सदस्यहरु पनि थोरै थियौं । अहिले सदस्यहरु पनि पर्याप्त हुनुहुन्छ । कर्मचारी पहिले एक जनाबाट सुरु गरे पनि पर्याप्त छन् । अब म नहुँदा पनि आयोगको काम राम्रो संग चल्छ ।’
मुख्य मन्त्री डोरमणि पौडेललाई लिखित रुपमा राजिनामा नदिएको जानकारी दिदै डाक्टर देवकोटाले भन्नुभयो–‘आयोगले एक वर्षको अवधिमा गरेको काम सार्वजनिक गर्दाको पत्रकार सम्मेलनमा मैले संकेत गरेको थिए । भनेको पनि थिए । म नहुँदा पनि अव आयोगको काम राम्रो संग चल्छ । तपाई यती भनेपछी त बुझि हाल्नुहुन्छ नी ।’
मुख्यमन्त्री डोरमणि पौडेल चिनबाट हेटौंडा फर्केर आउने बित्तकै उपाध्यक्ष देवकोटाले राजीनामा दिने विषयमा जानकारी गराइ सक्नुभएको छ । राजीनामा दिने जानकारी गराएर उपाध्यक्ष देवकोटा बिहिबार काठमाण्डौं जानु भएको छ । प्रदेशका एक जना मन्त्रीले भने उपाध्यक्ष देवकोटाले राजिनामा दिएर काठमाण्डौं गइसकेको जानकारी दिनुभयो । लामो समयदेखि केही मन्त्रीहरु संग कुरा नमिलेपछी उपाध्यक्ष देवकोटाले राजीनामा दिएर काठमाण्डौं गएको ती मन्त्रीले जानकारी दिनुभएको छ । तर, राजिनामा दिने देवकोटा र राजिनामा लिने मुख्यमन्त्री पौडेलले यसबारेमा स्पष्ट रुपमा बाहिर कुरा खुलाउन नचाहेको अर्का एक मन्त्रीले जानकारी गराउनुभयो ।