लुम्बिनी मेडिकल कलेजबाट जन्मिएको ४ घण्टामै नवजात शिशु गायब

जनपत्र
२८ असार २०७६, शनिबार ०६:२४

जिल्लाको सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार दिउँसो नवजात शिशु गायब भएको छ। तानसेन नगरपालिका–९ सन्ढापकी २२ वर्षीया जमुना रानाको नवजात शिशु हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए। उनका अनुसार दिउँसो करीव तीन बजेतिर शिशु हराएको हो। सुत्केरी व्याथा लागेर शुक्रबार नै मेडिकल कलेज प्रभास गएकी जमुनाले बिहान ११ बजे छोरा जन्माएकी थिइन्। सुत्केरी जमुनाको रेखदेख गर्न उनकी आमासँगै थिइन्। सुत्केरी जमुना अर्धचेत अवस्थामा रहेको अवस्थामा उनकी आमा छोरीलाई ज्वानोको झोल ल्याइदिन बच्चा काखमा राखेर मेडिकल कलेजकै क्याण्टीनमा गएकी थिइन्। उनीसँगै एकजना अपरिचित महिलाले सहयोग गर्ने वहानामा सँगै गएको प्रत्यक्षदर्शीले बताए। ‘ज्वानोको झोल जमुनाकी आमालाई लैजानुस् भनेर ती अपरिचित महिलाले बच्चा आफूले ल्याइदिने बताएकी थिइन्। तर, जमुनाकी आमा सुत्केरी छोरीसँग पुग्दासमेत ती महिला बच्चा लिएर नपुगेपछि मात्र खोजी सुरु भएको थियो’ प्रहरी नायब उपरीक्षक सापकोटाले भने ‘जमुनाकी आमा सरासर ज्वानोको झोल लिएर छोरी भएको हस्पिटलको माथिल्लो तलातिर लागिन। बच्चा समातेकी महिला मुलगेटबाट बाहिरिएको हुनुपर्छ।’ दिउँसो तीन बजेतिर घट्ना भए पनि आफूहरूलाई बेलुकी पाँच बजेमात्र खबर भएको उनले बताए। ‘अहिले घट्नाबारे अनुसन्धान भइरहेको छ’ उनले भने ‘प्रहरी उपरीक्षक दीपेन्द्र जिसीकै नेतृत्वमा सुरक्षाकर्मीको टोली लुम्विनी मेडिकल कलेज आएका छौं। मेडिकल कलेजमा रहेको सिसी क्यामेरासमेत बिग्रिएको अवस्थामा रहेकोले घट्नाबारे पत्ता लगाउन कठिन भएको छ।’ लुम्बिनी मेडिकल कलेजका स्टाफ, स्वयं परिवारको लापरबाहीले यस्तो घट्ना घटेको प्रहरीको ठम्याइ छ। शिशुको खोजी भइरहेको उनले बताए।
ईमेज खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*