जापानमा नेपाली कामदार लैजाने तयारी : असोजमा भाषा र सीप परीक्षा हुँदै

जनपत्र
२७ असार २०७६, शुक्रबार ०७:२६

जापान रोजगारीका लागि भाषा परीक्षा आउँदो असोजमा सञ्चालन हुने बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगारी खुलाएका १४ क्षेत्रमध्ये पहिलो चरणमा केयरगिभर कामदार लैजाने जापानको तयारी छ । भाषा परीक्षापछि सीप परीक्षण गरिन्छ । भाषा परीक्षाका लागि जापान फाउन्डेसनले परीक्षा सञ्चालन गर्नेछ ।

मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार असोजमा परीक्षा सञ्चालन गर्ने तयारी भएको छ । ‘जापान रोजगारीका लागि पहिलो चरणमा केयर गिभर (नर्सिङ केयर) मा कामदार लैजानेछ’, उनले भने । सीप र भाषाको परीक्षा जापान सरकारले तोकेका संस्थाले लिनेछन् । जापानले रोजगारीको अवसर खुलाएका देशका नागरिकका लागि तोकिएको सीपमा जापानमा पनि परीक्षा सञ्चालन गरी कामदार आपूर्ति भइरहेको छ ।

कम्प्युटरमा आधारित भाषा परीक्षा सञ्चालन हुनेछ । उत्तीर्ण भएका सूचीका आधारमा कामदार जापान जान पाउने उनले बताए । नर्सिङ केयरका लागि अरु योग्यता र तालिमको प्रमाणपत्र अनिवार्य गरिएको छैन । नर्सिङ केयर क्षेत्रमा रुचि भएका तथा भाषामा निपुर्ण भएका जोकोही जापान जान पाउनेछन् । नर्सिङ केयरका लागि परीक्षा सञ्चालन प्रक्रिया सुरु भए पनि कति कामदार लैजाने भन्ने यकिन भइसकेको छैन । जापानमा वृद्ध जनसंख्या बढ्दै गएकाले जापानले पहिलो चरणमा उनीहरूको हेरचाहलाई लक्ष्य गरेर नर्सिङ केयरमा कामदार लैजान लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*