गाउँमा डोजर चलाएर मात्र समृद्धी आउँदैन–मुख्यमन्त्री पौडेल

जनपत्र
२५ असार २०७६, बुधबार १९:१८

हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलल गाउँ–गाउँमा डोजर चलाएर मात्र समृद्धी नआउने बताउनुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा स्थानीय तह समन्वय बैठक एबं पुस्तक सार्बजनिक कार्यक्रमको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले मुलुकमा समृद्धी ल्याउन उत्पादन संग जोड्नुपर्ने बताउनुभयो । डाँडा भत्काएर सडक बनाएर मात्र विकास नहुने उहाँको भनाई छ ।

सिंहदरबार प्रदेश तह हुँदै स्थानीय तहसम्म आइपुगे पनि रित्तो आएको बताउनु भएको छ । मुख्यमन्त्री पौडेलले श्रोत, साधन तथा जनशक्ति विनाको सिंहदरबार आएको भन्दै उहाँले प्रदेश लोकसेवा आयोगले १ वर्षभित्र कर्मचारी नियुक्त गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो । जिल्ला समन्वय समितिको सक्रियता र क्रियाशिलताको कारण जिल्लाका १० वटै स्थानीय निकायमा बन्ने योजना, निर्माण लगायतका विकासका पूर्वाधारमा एकरुपता ल्याउनको लागि भूमिका रहने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

कार्यक्रममा प्रदेश ३ का सभासद प्रेम बहादुर पुलामीले समन्वय समितिलाई के कति अधिकार र के कस्तो अख्तियारी छ भन्ने कुरा किटान नहुँदा समस्या रहेको बताउनुभयो । प्रदेश मुख्य सचिव आनन्द ढकाले अनुगमन, समन्वय र सन्तुलित निकासको लागि मार्गदर्शन गर्ने भूमिका समन्वय समितिको रहने बताउनुभयो । बैठकमा सभाध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बैठक शुरु भएपछि छलफल गरिने प्रस्तावका बारेमा जानकारी गराउनु भएको थियो ।

समन्वय समितिका उपप्रमुख भगवति पुडासैनीले स्वागत गर्नुभएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, बाग्मती गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङतान, लगायतले आफ्नो धारण राख्नुभएको थियो ।

यसैगरी जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय निकायको शब्दचित्र समेटेर प्रकाशन गरेको मकवानपुर नामक पुस्तकको एक कार्यक्रमका बीच मुख्यमन्त्री डोरमणी पौडेलबाट सार्वजनिक गर्नुभएको छ । कार्यक्रममा वक्ताहरुले पुस्तक परिस्कृत र उपयोगी रहेको बताउनु भएको थियो । स्थानीय १० वटा तहको बारेमा पुस्तकमा समेटिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले समग्र जिल्लाको शब्दचित्र समेटिएको मकवानपुर नामक पुस्तकको समेत चर्चा गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*