वनलाई मानिसको जीवन र रोजगारी संग जोड्नुपर्छ –मन्त्री नेपाल

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडानम्बर १ बुङदलमा आज बिहान ४ हजार ५ सय वटा बिभीन्न जातका रुखका बिरुवा रोपिएको छ । बृक्षा रोपण कार्यक्रमको प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले उद्घाटन् गर्नुभयो । दरबारडाँडा सामुदायिक वन उपभोक्ता समुह बुङ्दलको आयोजना तथा डिभिजन वन कार्यालय राप्ती, मनहरीको सहयोगमा बृक्षा रोपण गरिएको हो ।
कार्यक्रमलाई संबोधन गर्दै मन्त्री नेपालले वनलाई मानिसको जीवन र रोजगारी संग जोडिनुपर्ने बताउनुभयो । रोपिएका बिरुवालाई आफ्नै छोराछोरीलाई जसरी हुर्काउनका लागि निर्देशन दिदै उहाँले भन्नुभयो–‘बृक्षा रोपण गर्नु मात्र ठुलो कुरा होइन यसलाई सबै मिलेर जोगाउनुपर्छ । हामिले रोपेका बिरुवा सबै हुर्कने हो भने सबैतिर जंगलनै जंगल हुने छ ।’
अब हाम्रा जमिनमा तुरुन्तै फल दिन सक्ने फलफूलका बिरुवा रोप्नुपर्ने भन्दै उहाँले भन्नुभयो–‘सामान्य दुई, चार वटा बिरुवा रोपेर केही हुँदैन धेरै बिरुवा रोपेर ब्यावसायीक प्रयोजनमा ल्याउन सक्नुपर्छ । परिणाम दिन सक्ने फलफूलका बिरुवा रोप्नुपर्छ ।’ उत्पादन र रोजगारी दिने बृक्षा रोपण गर्नका लागि मन्त्री नेपालले निर्देशन दिनुभयो । अहिले प्रदेश सरकारले दुईस्थानमा वनको नर्सरी तयार गर्न लागिएको र हेटौंडा र काठमाण्डौं उपत्यका क्षेत्रमा नर्सरी राखिने जानकारी दिनुभयो । हरियो वन नेपालको धन भन्ने नारा पुरा हुन नसकेकाले अब साच्चै वनलाई नेपालको धन बनाउनुपर्ने बताउनुभयो ।
सामुदायिक वनलाई अप्ठेरो पार्ने काम कुनैपनि हालतमा प्रदेश सरकारले नगर्ने प्रतिबद्धता ब्यक्त गर्दै मन्त्री नेपालले भन्नुभयो–‘सामुदायिक वनले गरेको राम्रो कामको हामी सधै समर्थन गछौ । सामुदायिक वनकै कारण नेपालमा यती धेरे राम्रा जंगल बनेका हुन् । त्यसैले सामुदायिक वनलाई हामी अप्ठेरो पार्दैनौ ।’
आज बुङ्दलमा ४ हजार ५ सय बिरुवा रोपिएको हो । स्थानीय उपभोक्ताहरुले श्रमदान गरेर एक हजार ५ सय सिसौ, एक हजार खयर, एक सय अमला, सिमल ३ सय , बकाइनो एक हजार, बाँस ५ सय र मसलाका एक सय बिरुवा रोपीएको हो । कार्यक्रममा मकवानपुरको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, मकवापनुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, भिमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना लगायतकाले बिरुवा रोप्नुभएको थियो ।