सात हलमा ‘जात्रै जात्रा’ ले मनायो ५१ दिन

डेढ दशक अगाडिसम्म नेपाली फिल्मका लागि हलमा प्रदर्शनको ५१औं र सय दिन सामान्य हुन्थे । डिजिटल युगको आरम्भसँगै हलमा नेपाली फिल्मलाई एक हप्ता टिक्न पनि हम्मेहम्मे पर्ने गरेको छ । फिल्मको सफलताको मानक मानिने ५१ र सय दिने पछिल्लो केही वर्षयता लोप हुँदै गएको छ । यद्यपि, वर्षमा एक वा दुई फिल्मले भने जसोतसो प्रदर्शनको ५१ दिने पार गर्ने गरेका छन् । गत वर्ष ‘छक्का पञ्जा ३’, ‘जय भोले’ र ‘ए मेरो हजुर ३’ ले यो यात्रा पार गरेका थिए ।
यस वर्षको बैशाखमा प्रदर्शनमा आएको फिल्म ‘दाल भात तरकारी’ ले पनि तीन सिंगल थिएटरमा ५१औं दिन मनायो । भलै, फिल्म फिक्समा दिइएको थियो । यसबीच, गएको जेठ ३ गतेबाट हलमा प्रदर्शन आरम्भ गरेको प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ले पनि शनिबार आज ५१ दिने यात्रा पूरा गरेको छ । दश किलो सुनको कथामा आधारित यो फिल्मले राजधानीमा ७ वटा हल (सिंगल र मल्टीप्लेक्स) मा प्रदर्शनको ५१ दिन मनाएको हो ।