कसरी बन्छ समृद्व नेपाल र सुखी नेपाली ? (बिचार)

धिक्कार छ हामीलाई समृद्व नेपाल र सुखी नेपालीको सपना देखिरहेका छौं । गाउँमा भएका गैरीखेत र घरमुनिका बारीका पाटामा कुरोले छपक्क छोपेर बाँझिएको छ । हामी शहरीया भएर कौसिमा बसेर धुलो र धुवाँ खादै रमिता हेरी रहेका छौ । त्यो सित्तल, शान्त, रसिलो र हराभरा गाउँ जाने मनै छैन । अरुले फलाएर बेच्न राखेकोे तरकारी किन्न जानपनी हात गोडामा मैलो लाग्ला भनेर सकेसम्म अरुलाई अराउँछौ भान्सा सम्म आईपुगोस र भान्से बनौला भनेर ।
यही शहर घरमा पनि गमलाले फुलको बोेट नपाएर टीका नलगाएकी महिलाको खाली निदार जस्तो खल्लो मानिरहेको छ। करेसामा दुई बोट साग रोप्ने जागर नहुदा बन्सो र रामुन्ने घाँसका फुलले गिज्याई रहेका छन् । हामी कुर्दै छौ छिमेकी राष्ट्रका जाँगरिला किसानहरुले विष राखेर फलाएका अनि किरा नलागेका ताजा तरकारी र फलफुल भन्सा सम्म कुनबेला आउला भनेर ।
आफ्नो त कौसि रित्तै छ, अरुको कौसी कृषियोग्य जमिन झै देखिन्छ । गमलामा रोपेको फर्सिका कैडाले भकुन्डो खेलिरहेको झै देखिन्छ । कौसिबाट लौका, घिरौला, करेलाले पिंङ खेल्दै एक आपसमा ठोकिदै फेरी अंकमाल गर्दै लाग्छ मलाई नै हेरेर गिज्याई रहेका छन् । तर पनि मलाई पटक्कै जाँगर पलाउँदैन, दुईबोट साग गमलामा रोपौ भनेर !
म मोवाईलको मनोरन्जन संगै जानी जानि पर्खि रहेको छु छिमेकी राष्ट्रबाट विष हालेको तरकारी कुनबेला भान्सामा भित्रेला भनेर । हिजो आज समाचारमा सुन्छुु जान्दै नजानेका र सुन्दै नसुनेका रोगले मानिस विरामी हुदैछन भनेर खै तै पनि जाँगर पलाउदैन, कौसि खेती गरौ कि भनेर ।
यस्तो छिमेकी पर्यो कि माया देखाएर काखमा सुताएर घाँटी निचोर्ने रोगी सामन छ भन्ने जानी जानी थाहा पाउँदा पाउँदै पनि खान्न भन्न नपाउँँने हामी नेपालीको वाध्यता, विष हालेको तरकारी रोक्छौ भनेर रोक्न नपाउँने सरकारको वाध्यता, कस्तो विडम्वना, खै सधैं छिमेकी कै डर,त्रास,धम्की ।
सरकारले त आफ्नो जनतालाई संरक्षण गर्न सम्म पाएन र गरेको निर्णय र बोलेको कुरा ,फिर्तागर्न वाध्य वनायो । जनताले पनि वाह्य आयातलाई अस्वीकार गर्ने हिम्मत गर्दैनौ किन कि हामी रित्तै छौ । हाम्रा जाँगर मौलाएका छनन् अनि कसरी बन्छ समृद्व नेपाल र सुखी नेपाली को सपना !
लेखक जिल्ला समन्वय समिति मकवानपुरको उपप्रमख हुनुहुन्छ ।