चोरीको दाग मेट्न चाहन्छिन् केकी

जनपत्र
२१ असार २०७६, शनिबार ०६:२५

अभिनेत्री केकी अधिकारीले फिल्म ‘कोहलपुर एक्सप्रेस’ मार्फत् पहिलो पटक फिल्म निमाणमा हात हालिन् । रिलिजपूर्व फिल्मको चर्चा गजबै थियो । बक्सअफिसमा राम्रो पैसा छाप्ने आँकलन पनि भएको थियो । तर, रिलिज लगत्तै चोरीको बात लाग्यो । साउथ इन्डियन फिल्म ‘मुम्बई एक्सप्रेस’ को कथा र प्लट तानेर निर्देशक विशाल भण्डारीले फिल्म बनाएका थिए । चोरीको बात लागेपछि फिल्मले हलमा दर्शक तान्न सकेन ।

निर्माणमा हात हालेको पहिलो फिल्मलाई चोरीको आरोप लागेपछि अभिनेत्री केकी नराम्रोसँग हच्किएकी छन् । उनी अब आफ्नो करिअरमा लागेको यो दाग मेटाउन चाहन्छिन् । फेरि चोरीको बात नलागोस् भन्नेमा उनी निकै सचेत छिन् । चाँडै केकी दोस्रो फिल्म निर्माण गर्दैछिन् । नाम ‘कन्याकुमारी’ जुराइएको छ । दोस्रो फिल्मलाई चोरीको आरोप लाग्न नदिन निकै मेहनत गरिरहेको उनको भनाई छ ।
अहिले दीपकराज गिरी र दीपाश्री निरौला समुहको फिल्म ‘छ माया छपक्कै’ को छायांकनमा व्यस्त केकीले ‘कोहलपुर एक्सप्रेस’ को टिमसँग मिलेर टेलिभिजनका लागि एक कमेडी रियालिटी शो निर्माण गर्दैछिन् । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘कमेडी च्याम्पियन’ रियालिटी शोमा उनी निर्मात्रीको रुपमा छिन् । यो शोलाई चोरीको बात नलागोस् भन्नेमा आफू र आफ्नो टिम निकै सचेत रहेको उनी बताउँछिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*