भारतमा बजेट आएपछि के सस्तो, के महंगो

भारतकी वित्तमन्त्री निर्मला सीतारमणले भारतको आगामी आर्थिक वर्षको पूर्ण बजेट पेस गरेकी छन् । पूरै बजेट भाषणका क्रममा आयकरमा सीमामा छुटको घोषणा सुन्न पर्खिइरहेका करदाताले अन्तिमसम्म पनि सो घोषणा सुन्न पाएनन् । जसबाट उनीहरुमा निराशा छाएको छ । व्यापारिक क्षेत्रमा जोडिएका व्यक्तिलाई पेन्सनको घोषणा गरिएको छ । प्रदुषणबाट आजीत भएका भारतीय जनतालाई राहत दिनका लागि विद्युतीय सवारीमा बढावा दिनका लागि ब्याजमा राह दिने घोषणा गरिएको छ ।
यी सबै कुराका बाबजुद भारतीय बजेटले केही कुरालाई महंगो बनाइदिएको छ भने केही कुरा सस्ता भएका छन् । जसमा पेट्रोल–डिजेल, सुन, काजु महंगो हुनेछन् । आयात शुल्कका कारण केही वस्तुको मूल्य बढ्नेछ । बजेटपछि विद्युतीय गाडीको मूल्य घट्नेछ ।
महंगिने वस्तु
सुर्तीजन्य पदार्थ
बजेटपछि अब सूर्तीजन्य पदार्थहरुको भाउ बढ्नेछ ।
पेट्रोल–डीजेल
पेट्रोल–डीजलमाथि १ रुपैंया एक्साइज ड्युटी र १ रुपैंया प्रतिलिटरको भौतिक संरचनाका लागि लिने निर्णय भएको छ । जसबाट अब इन्धनको मूल्य अत्तिरिक्त २ रुपैयाँ बढ्नेछ । यो दुई दिनअघि पेश गरिएको आर्थिक सर्वेक्षणको ठीक विपरितको परिणाम हो । जुन सर्वेक्षणमा इन्धनको मूल्य घट्ने बताइएको थियो ।
सुन चाँदी
अब सुनचाँदी र आभूषणको मूल्य पनि बढ्नेछ ।
आयातित किताब
भारतको नयाँ बजेटअनुसार अब आयातित किताबको मूल्य पनि बढ्नेछ । आयातित किताबमा अब ५ प्रतिशत कर लाग्नेछ ।
यी हुनेछन् सस्तो
नयाँ बजेटअनुसार केही वस्तुहरु सस्तो हुनेछन् । बजेटपछि घर किन्न ऋण लिन सस्तो हुनेछ । यसको अर्थ अब घर सस्तो दरमा पाइनेछ । सस्तो घरका लागि ३.५ लाख रुपैयाँको छुट हुनेछ ।
इलेक्ट्रिक बसमा छुट
बजेटपछि इलेक्ट्रिक गाडी, कार जस्ता सवारी साधन किन्न पनि सस्तो हुनेछ । मूल्य कम भएपछि यस्ता विद्युतीय सवारीका प्रयोगकर्ता बढ्नेछन् भने भारतमा भइरहेको प्रदुषण कम गर्न पनि सहयोग मिल्नेछ ।
रक्षा उपकरण
अब भारतमा रक्षा उपकरण पनि सस्तो हुनेछ ।
छालाका सामना
नयाँ बजेटपछि अब भारतीय बजारमा छालाका सामानको मूल्य पनि कम हुनेछ । यसका साथै अब भारतीय बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य घट्नेछ भने प्राविधिक सामानहरुको मूल्य बढ्नेछ । अप्टिकल फाइबर, स्टेनलेस उत्पादन, धातुका फिटिङ्स, फ्रेम र सामान, एसी, ब्रिफ केस, लाउडस्पिकर, भिडियो रेकर्डर, सीसीटीभी क्यामेरा, सवारीको हर्न, चुरोटको मूल्य बढ्नेछ ।
साबुन, स्याम्फु, कपालमा लगाउने तेल, टुथपेस्ट, डिटरजेन्ट पाउडर, बिजुलीका घरेलु सामान, भाडा, गद्दा, विस्ताराका सामान, सेनेटरी प्याड, बोतल, कन्टेनर, यात्री ब्याग, चस्माको फ्रेम, बाँसको फर्निचर, पास्ता, धूपबत्ती, सुकेको नरिवल, न्यापकिन, उन, धागोजस्ता सामान सस्तोमा पाइनेछ ।