हेटौंडाका विपन्न युवाहरुलाई उद्यमी, बेरोजगारीलाई रोजगारी दिइने

कृषिमा प्रबिधि भित्रयाइने, मनकामना सम्म केवलकार, पानी घट्ट संरक्षण र आरन सुधार कार्यक्रमलाई प्राथमिकता
जनपत्र
२० असार २०७६, शुक्रबार ०६:३२

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले यस क्षेत्रका विपन्न र बेरोजगार युवाहरुलाई लक्षित गरी लघुउद्यम कार्यक्रममार्फत उद्यमशीलताको विकास गर्ने कार्यलाई प्रोत्साहन गरिने भएको छ । आउँदो आर्थिक बर्षमा यस कार्यक्रमलाई प्राथमिकता दिने योजना बनाएको हो ।
सङ्घीय सरकारबाट विशेष महत्व दिई सञ्चालनमा आएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको कार्यान्वयनका लागि पनि महत्व दिदै बिपन्न परिवारका बेरोजगार युवालाई रोजगारी दिनेगरी कार्यक्रम गरिने हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख हरिबहादुर महतले बताउनुभयो । यसअघिनै रोजगार सेवा केन्द्रमा बेरोजगार सूचीमा दर्ता भएका बेरोजगारहरुलाई लक्षित गरी आगामी आर्थिक वर्षबाट रोजगारीका विशेष कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

कृषि वस्तु उत्पादनको बजारीकरण तथा उपभोक्तालाई सुपथ मूल्यमा कृषि उपज उपलब्ध गराउन आगामी आर्थिक वर्षभित्रै आधुनिक कृषि थोक बजारकेन्द्र स्थापना तथा कृषि उपज उत्पादनलाई मूल्य श्रृखंला विकासलाई प्रोत्साहन गरिने तयारी भएको छ । कृषि क्षेत्रको अभिवृद्धिका लागि कर्रा खोलालगायतका अन्य खोलाहरुबाटसमेत लिफ्ट सिंचाईको कार्यक्रमलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । नगरका खेतियोग्य जमिनलाई प्राथमिकता दिदै यो कार्यक्रम ल्याउन लागिएको हो । यसैगरी सहरी क्षेत्रमा कौशी तरकारी खेती प्रवद्र्धनका लागि विशेष कार्यक्रमहरु लागू गरिने गरी तयारी थालिएको नगरप्रमुख महतले बताउनुभयो ।

पशु स्वास्थ्य केन्द्र तथा कृषि सेवा केन्द्रहरुलाई स्तरवृद्धि गरीने

हेटौंडा उपमहानगरपालिकाले आउँदो आर्थिक वर्षमा नगरका विभिन्न क्षेत्रहरुमा सञ्चालित पशु स्वास्थ्य केन्द्र तथा कृषि सेवा केन्द्रहरुलाई आगामी आर्थिक वर्षमा स्तरवृद्धि गरी थप व्यवस्थित गरिने तयारी गरेको छ । कृषि र पशुपालन गर्दै आएका कृर्षकलाई ध्यान दिएर यो कार्यक्रम गर्न लागिएको हो । कृषि तथा पशु क्षेत्रको व्यवसाय प्रवद्र्धन गर्न नियानुसार दर्ता हुन आउने व्यवसायीहरुलाई व्यवसाय दर्ता गर्दा लाग्ने करमा ७५ प्रतिशत छुट दिइने उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले बताउनुभयो । नगरका विस्तारित क्षेत्रका वडाहरुको सम्पत्ति कर मूल्याङ्कनको प्रयोजनका लागि संरचनाको मूल्याङ्कन गर्दा हुन आउने कर रकममा १५ प्रतिशत छुट दिइने तयारी गरिएको छ ।

मनकामना मन्दिरसम्म केबलकार र मनकामना डाँडामा बञ्जि जम्पिङसहितको भ्यू टावर निर्माण

हेटौंडामा आन्तरिक पर्यटनमा टेवा पुर्याउने नयाँ काम सुरु गर्ने तयारी गरिएको छ । नगर क्षेत्रको पर्यटन प्रचार प्रसारका लागि हेटौडा–५ पिप्लेदेखि मनकामना मन्दिरसम्म केबलकार र मनकामना डाँडामा बञ्जिजम्पिङसहितको भ्यू टावर निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने उपमहानगरको तयारी छ । यो कार्यक्रम आगामी आथिृक वर्षमागर्नेगरी काम थालीएको छ । यस कार्यक्रमका लागि निजी क्षेत्रको लगानीमा गर्ने कामलाई प्राथमिकता दिन लागिएको हो ।

यसैगरी सङ्घीय सरकारसँगको आवश्यक समन्वय र सहकार्यमा चुरियामाई मन्दिरमा रहेको दक्षिण एशियाकै पहिलो मानव निर्मित सुरुङको संरक्षण र सम्वद्र्धन गर्ने कार्यलाई प्राथमिकता दिइने गरी काम गर्न लागिएको छ । चालु आर्थिक वर्षमा पनि हेटौंडा उपमहानगरपालिकाले यसको संरक्षणका लागि लगानी गरेर काम गरेको छ ।

नगर क्षेत्रमा रहेका पर्यटकीय स्थलको विकास, पर्यटन पूर्वाधार निर्माण र पर्यटकीय सेवाको विविधिकरण एवम् स्तरोन्नति गरिनेछ । धार्मिक मठमन्दिर, गुम्बा, मस्जिद र चर्चहरुको संरक्षण, गरी साना पूर्वाधार सुधार एवम् प्रचारप्रसारका लागि आवश्यक व्यवस्था मिलाइने उहाँले वताउनुभयो ।

महिला, अपाङ्ग तथा लैंगिक अल्पसंख्यक उद्यमीको स्वामित्वमा सञ्चालित विभिन्न उद्यम आगामी आर्थिक वर्षभित्र उपमहनगरपालिकामा दर्ता हुन आएमा सोमा लाग्ने करमा कर छूटको व्यवस्था गरिने गरीने भएको उपप्रमुख लामाले वताउनुभयो । सम्बन्धित निकायमा विगत वर्षहरुमा दर्ता भई सञ्चालनमा रहेका तर उपमहानगरपालिकामा दर्ता हुन नआएका व्यवसायीहरुलाई करको दायारामा ल्याउन विगत ३ वर्षको मात्र कर लिई दर्ता गरिने भएको छ ।

कृर्षकलाई प्रविधि दिदै व्यावसायीक खेतिलाई प्रोत्साहन

हेटौंडामा निर्वाहमुखी खेति प्रणालीलाई निरुत्सायीत गर्दै व्यावसायीक खेतिलाई प्रोत्साहीत गरिने भएको छ । यहाँको निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायमुखी खेती प्रणालीमा रुपान्तरण गरिने नगरप्रमुख महतले वताउनुभयो । कृषकहरुलाई वितरण गरिने कृषि सामाग्री तथा पशु बीमामा आवश्यक अनुदानको व्यवस्था गरी साना सिँचाई कार्यक्रमलाई निरन्तरता दिइने तयारी गरिएको हो ।

स्थानीय मौलिक ज्ञान र प्रविधिको संरक्षण र सम्वद्र्धन गरी कृषकलाई अग्र्यानिक खेतीतर्फ आकर्षित गरिने उहाँले बताउनुभयो । साथै खेती प्रणालीमा सामयिक सुधार गर्ने क्रममा हाते ट्रयाक्टरको प्रयोगलाई निरन्तरता दिइने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । हेटौंडा नगरभित्र सञ्चालित सहकारी संस्थालाई नियमन र व्यवस्थापन गर्न आवश्यक नियमावलीको तर्जुमा गरिने उपमहानगरपालिकाले जनाएको छ ।

पानी घट्ट संरक्षण र आरन सुधार जस्ता कार्यहरुलाई प्रोत्साहन गरिने

हेटौंडा उपमहानगरपालिकाले स्थानीय तथा हस्तकला सामाग्रीहरुको उत्पादनलगायत पानी घट्ट संरक्षण र आरन सुधार जस्ता कार्यहरुलाई प्रोत्साहन गरिने तयारी गरेको छ । आउँदो आर्थिक वर्षमा बजेट छुट्याएर काम गर्न लागिएको हो । आरन र पानी घट्ट बिस्थापीत हुँदै गइरहेको समयमा यो कार्यक्रमलाई प्रोत्साहित गर्न कार्यक्रम ल्याउन लागिएको नगरप्रमुख महतले बताउनुभयो ।

वैदेशिक रोजगारसँग सम्बद्ध कामदार तथा तिनका परिवारलाई उचित संरक्षण गरी वैदेशिक रोजगारमा सम्बद्ध निकायहरुको क्षमता अभिवृद्धिमार्फत वैदेशिक रोजगारीको प्रतिफल वृद्धि गर्ने उद्देश्यबाट यस उपमहानगरपालिकामा समेत सुरक्षित आप्रवासन कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*