उत्तरी मकवानपुरको पालुङ वहुउद्देश्यीय सहकारी संस्था नै कालोबजारी धन्दामा

आफैले निर्धारण गरेको दररेट भन्दा प्रतिकिलो ७ रुपैंयाले बढी मुल्य लिइयो
जनपत्र
१८ असार २०७६, बुधबार १३:२६

मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको सो अग्रणी सहकारी संस्थाले आफैले निर्धारण गरेको दर रेटमा भन्दा बढी मूल्य लिई रासायनिक मल बिक्री गरेको पाइएको छ । सर्वसाधारणको निक्षेप जम्मा गरर सञ्चालन गरे सहकारी संस्थाले यसरी सर्वसाधारणलाई नै मर्का पर्ने गरी बढी मुल्यमा रासायनीक मल विक्री गर्दा आलोचना गर्नेहरुलाई बाटो फराकिलो भएको छ । आफैंले तोकेको मुल्यभन्दा बढी मुल्य व्यक्ति हेरेर लिनु पनि एक किसिमको कालोबजारी भएको बताइन्छ । यस अर्थमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले कालोबजारी गर्दै आइरहेको पिडित स्थानीयहरु बताउँछन् ।

थाहा नगरपालिका–४ मा मुख्य कार्यालय रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले यही असार १५ गते थाहा नगरपालिका वडा नं. ५ का कृषक रामचन्द्र बिडारीलाई २५ केजी युरिया मललाई प्रतिकेजी २५ रुपैंया लिई बिक्री गरेको पाइएको हो । ( हेनुस् बिल)

यो दर जिल्लाले निर्धारण गरेको दररेट भन्दा ६ रुपैंया ९० पैसा बढी हो भने सहकारीले आफैले निर्धारण गरेको दररेट भन्दा ७ रुपैंयाले बढी हो । जिल्लाले निर्धारण गरेको दररेटमा बोरा खोलेर बिक्री गर्नु पर्ने अवस्थामा प्रति केजी १ रुपैंया थप गरि बिक्री बितरण गर्ने निर्णय गरिएको थियो । तर बजारमा मल कमि हुँदै गएको मौका छोपेर मनखुसी भाउ दर बढाएर कृषकमाथी अन्याय गर्ने कामले सो संस्थाको विश्वसनीयतामा प्रश्न उठेको छ ।

यहि जेठ २८ गते थाहानगर स्थित रासायनिक मल बिक्रेता सहकारी संस्थाहरुको भेलाले प्रस्ताव नम्बर २ मा रासायनिक मलको कारणले तरकारी उत्पादनमा कमी हुन नदिन तथा किसानहरुलाई अनावश्यक तनाव सँगै कालोबजारीको सम्भावनालाई रोक्नका लागि सम्वन्धित निकाय तथा सरोकारवालाहरुलाई अनुरोध गर्ने भनि निर्णय गरेको थियो ।

त्यही अनुसार रासायनिक मल बिक्री गर्ने सो आसपासका १३ वटा सहकारीहरुको समुहले गरेको निर्णयलाई नै लत्याएर पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले कृषकलाई मर्कामा पार्नु जायज नभएको कृषकहरुले बताईरहेका छन् ।

सोही बैठकको निर्णय नं. ४ को ख यस क्षेत्रमा रासायनिक मलको बिक्री बितरणलाई प्रभावकारी ब्यवस्थापनको लागि गठन गरिएको संयोजन समितिको संयोजक समेत पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि. को अध्यक्ष पुरुषोत्तम कार्की रहेका छन् । संस्थाले सार्वजनिक सुचना जारी गर्दै यसरी दररेट सार्वजनिक समेत गरेको थियो । ( हेनुस् सुचना )

कृषि सामाग्री कम्पनी लिमिटेडले प्रति वोरा डि.ए.पी २१ सय ८५ रुपैँया, युरिया ७ सय ३५ रुपैया मुल्यमा सहकारी संस्थाका लागि बिक्रीवितरण गरिरहेको कृषि सामाग्री कम्पनी लिमिटेड हेटौडाका प्रमुख सर्मिला घिमिरेले बताईन् । तर थाहाको सहकारी संस्थाले भने यूरियामल प्रति बोरा १२ सय ५० रुपैयाँको दरले वितरण गर्दै आइरहेको छ । यसरी हेर्दा कालोबजारी नियन्त्रणको निर्णय गर्ने संस्था नै कालोबजारीमा संलग्न भएको प्रष्ट देखिन्छ ।

तपाईहरुले वितरण गरेको सहकारीले त महंगोमा वितरण गरिरहेको छ यस तर्फ तपाईहरुलाई थाहा छ कि छैन ? भन्ने प्रश्नमा कृषि सामाग्री कम्पनी लिमिटेड हेटौडाका प्रमुख घिमिरेले भन्नुभयो, ‘जिल्लाका केही सहकारीहरुले हामीले दिएको मुल्यमा लोड अनलोड देखि ढुवानी र त्यसमा ५० रुपैया सम्म जोडेर वितरण गर्न सकिन्छ, त्यो भन्दा वढि मुल्य लिएमा जानकारी दिनुस् हामी कारवाही गछौँ । ’

जिल्लामा मलखादको वितरणलाई सहज रुपमा वितरण गर्न गाँउ–गाँउका सहकारीहरु मार्फत वितरण गर्दै आएका कृषि सामाग्री कम्पनी र साल्टटे«डिङमा हिँउदे बालीका लागी प्रयोग हुने मलखाद वितरण गर्दै आएका छन् । यस विषयमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीलाई तपाईको सहकारीमा महँगो मुल्यमा मल वितरण भो रे नि भन्ने प्रश्नमा उनले भने, ‘हेटौडामा पनि यसरी नै बेचिरहेको र थाहामा पनि सोहि अनुसारको बेच्दा खासै केहि फरक पर्दैन ।’

उनले थपे, ‘हामीले खुद्रा बेच्ने गरेका थिएनौँैँ, खुद्रा बेच्नु परेमा प्रति केजि २५ रुपैयाँमा बिक्रि गर्ने गरेको हो । ’ थाहा नगरमा केहि दिन यता रासायनिक मल बितरण संस्थाहरुको भेलाले खुद्रा बेच्दा प्रतिकेजि २५ रुपैयामा बेच्ने मौखिक सहमति भए अनुसार बेचेको उनको भनाई रहेको थियो । यता कृषकहरुले भने कालोबजारी गरेको प्रति दुखषो पोखेका छन् । ‘खुलेआम ठगिदन्दा भईरहँदा पनि प्रशासन किन मौन ?’ उनीहरुले प्रश्न गरे ।

त्यसो त उत्तरी मकवानपुरका बज्रवाराही स्थीत अन्य संस्थाहरुले पनि विगतदेखि नै यस्तै धन्दा गर्दै आइरहेको गुनासो छ । स्मरणीय छ उक्त संस्था आफन्तको भर्ती केन्द्र भएको, सञ्चालकहरुले आ आफ्ना व्यवसायमा धेरै लगानी गरेको लगायतका कारण विवादमा आएको थियो ।

को को छन् नेतृत्वमा ?

पालुङ बहुउद्दश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुरुषोत्तम कार्की रहेका छन् । सहकारीको सचिवमा अरुण रायमाझी हुनुहुन्छ भने कोषाध्यक्षमा सानुकाजी गोपाली रहेका छन् । त्यसैगरी संस्थाको सदस्यहरुमा नवराज विष्ट, जर्मलाल श्रेष्ठ, रजिता ढकाल, सुमित्रा के.सी. लगायत रहेको बताइएको छ ।

रुपक कालिराजले लेख्नु भएको समाचार हजुरको खबरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*