लोक सेवा आयोगको विज्ञापन विवाद: सर्वोच्चद्वारा कर्मचारी भर्नाको बाटो खुला

सर्वोच्च अदालतले लोक सेवा आयोगको विज्ञापन विरुद्ध परेका रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । यससँगै स्थानीय तहका लागि आवेदन माग गरिएको कर्मचारी छनोट गर्ने बाटो खुलेको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले विज्ञापन विरुद्ध परेका रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि लोक सेवालाई कर्मचारी भर्नाको बाटो खुला भएको हो ।
समावेशी सिद्धान्तअनुसार आरक्षित कोटा नछुट्ट्याइएको भन्दै आलोचना भएपछि विज्ञापन विवादास्पद बनेको थियो । स्थानीय तहका लागि विज्ञापन खुलाउँदा हरेक तहको विज्ञापन अलग–अलग निकाल्नु परेकाले सिटको संख्या कम भएका कतिपय अवस्थामा आरक्षण छुट्याउन नसकिएको आयोगको भनाइ छ ।