प्रदेश ३ सरकारले काठमाण्डौ उपत्यकाको सफाइका लागि १२ ओटा ब्रुमर दिने

जनपत्र
१६ असार २०७६, सोमबार २०:२४

हेटौंडा । प्रदेश ३ को सरकारले काठमाण्डौ उपत्यकाको सफाइका लागि धुलो उठाउने १२ ओटा ब्रुमर तत्काल उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाण्डौ उपत्यकालाई सफा सहरको रुपमा विकास गर्न केही समय भित्रै १२ वटा ब्रुमर उपलब्ध गराउने घोषणा गर्नु भएको हो । सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले काठमाण्डौ उपत्यकामा हुने सडकको भिडलाई उचित व्यवस्थापन गर्न १० वटा आकाशेपुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि बताउनुभयो ।

काठमाण्डौका नागरिकले प्रदेशको राजधानी कहाँ हुने भन्दै साेध्ने गरेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले उनीहरुको घरघरमा सरकारको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले काठमाण्डौ उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि ३० करोड रुपैयाँ हस्तान्तरण पनि गर्नु भएको थियो । सर्वसाधरणलाई सस्तोमा यातायात सेवा उपलब्ध गराउने उद्देश्यका साथ काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिकासँगको सहकार्यमा काठमाण्डौ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने कामलाई अघि बढाइएको पनि मुख्यमन्त्री पौडेलको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*