प्रदर्शनमा उत्रियो ‘पानीफोटो’, खगेन्द्रको अग्निपरीक्षा

जनपत्र
१३ श्रावण २०७९, शुक्रबार ०८:०३

फिल्म निर्माण, अभिनय र लेखनमा आफूलाई प्रमाणित गरिसकेका खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’ले शुक्रवारबाट देशव्यापी प्रदर्शन थालनी गरेको छ । माओवादी जनयुद्धको पृष्ठभूमिमा निर्माण भएको फिल्मले बेपत्ता छोराको खोजीमा रहेको एक दाम्पतीको कथा वाचन गर्छ । मल्टीप्लेक्सहरुमा ठीकठाक शो पाएको फिल्मलाई सिंगल थिएटर भने पर्याप्त मात्रामा मिलेको छ ।

मल्टीप्लेक्सहरुमा बुधवारबाट खोलिएको फिल्मको एडभान्स बुकिङ उत्साहजनक हुन सकेन । त्यसो त, नेपाली फिल्मको टिकट काउन्टरबाटै बढी बिक्री हुने गर्छ । खगेन्द्रले लेखन र अभिनयबाट कमाएको विश्वास दर्शकलाई हलसम्म तान्ने एउटा आधार बन्न सक्छ । उनले पहिलो पटक फिल्म निर्देशन गरेकाले ‘पानीफोटो’प्रति अपेक्षा उच्च छ । यसअर्थ, उनका लागि यो अग्निपरीक्षा हो ।

मल्टीप्लेक्समा दुई हिन्दी फिल्म ‘एक भिलेन रिर्टन्स’ र ‘विक्रान्त रोना’ पनि शुक्रवारबाट प्रदर्शनमा आएकाले ‘पानीफोटो’लाई चुनौती ठूलो छ । यसलाई चिर्न फिल्मको ‘वर्ड अफ माउथ’ बलियो हुनु पर्नेछ । एडभान्स बुकिङको नतिजा हेर्दा फिल्मको इनिसियल व्यापार सामान्य हुने देखिन्छ । तथापि, माउथ पब्लिसिटी बलियो हुन सके बक्सअफिसमा फिल्म लामो रेसको घोडा बन्न सक्नेछ ।

फिल्ममा खगेन्द्रका अलावा अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको अभिनय छ । फिल्मको निर्मातामा रोजिना सिटौला र रविन्द्र बज्राचार्य छन् । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*