रियल मड्रिडबाट खेल्नु सपना हो र म अहिले यहाँ छु : एडेन हाजार्ड
रियल मड्रिडको खेलाडीको रुपमा बिहीवार औपचारिक रुपमा प्रस्तुत भएपछि एडेन हाजार्डले आफ्नो सपना पूरा भएको बताएका छन्। रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हाजार्डलाई रियल मड्रिडको खेलाडीको रुपमा प्रस्तुत गरिएको हो।
हाजार्डले रियल मड्रिडसँग ५ वर्षको सम्झौता गरेका छन्। हाजार्ड र रियलका अध्यक्ष फ्लोरिन्टिनो परेजले सम्झौतामा हस्ताक्षर गरे। हाजार्डले एक सातामा ४ लाख पाउण्ड कमाउनेछन्। १५० मिलियन पाउण्डमा इंग्लिस क्लब चेल्सीबाट हाजार्ड रियलमा अनुबन्ध भएका हुन्। ग्रे सुटमा प्रस्तुत भएका हाजार्डले फ्रेन्चमा बोलेका थिए।
‘म फ्रेन्चमा बोल्दै छु। अझै पनि मैले स्पानिस सुधार गर्नुपर्ने छ। बेल्जियमका कप्तान समेत रहेका हाजार्डले सुरुमै भने। ‘रियलका लागि खेल्नु सपना हो र अहिले म यहाँ छु।’ यस्तै रियलका अध्यक्ष पेरेजले पनि हाजार्डले खेल्न चाहेको स्थानमा भएको बताए। ‘तिमि जहाँ खेल्न चाहन्छौँ त्यहि छौ। यो तिम्रो सपना मध्ये एक हो। अहिले तिम्रो एक सपना पूरा भएको छ।’
गत सिजन खराब प्रदर्शन गरेको रियलले कुनै पनि उपाधि जित्न नसकेपछि यस सिजनका लागि खेलाडी किन्न ठूलो रकम खर्च गरेको छ। रियलले यसअघि नै सर्वियन फरवार्ड लुका जोभिचलाई अनुबन्ध गरिसकेको छ। यस्तै फरल्याण्ड मेन्डी, रोड्रिगो र एडर मिलिटाओलाई पनि अनुबन्ध गरेको छ।







