शुभचिन्तक भेटघाट बाक्लो बनाउँदै महेश बर्तौलाः ‘मध्यवर्ती र भूमिको समस्या नीतीमै सुधार गरेर सुल्झाउनुछ”

जनपत्र
१६ माघ २०८२, बिहीबार ०७:१७

​हेटौंडा / फागुन २१ को निर्वाचन नजिकिएसँगै मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट  उम्मेदवार महेश बर्तौलाले चुनावी अभियानलाई तीव्र पारेका छन् । मतदाता र शुभचिन्तकहरूसँगको भेटघाटलाई बाक्लो बनाउँदै उनले यसपटक नीतिगत सुधारमार्फत जनताका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

​भेटघाटका क्रममा बर्तौलाले प्रतिनिधि सभा सदस्यको मुख्य जिम्मेवारी नीति निर्माण गर्नु रहेको प्रष्ट पारे । प्रतिनिधि सभा सदस्य भनेको नीति निर्माता हो । नीति निर्माणको माध्यमबाट जनताको समस्या समाधान गर्ने नै मेरो मुख्य लक्ष्य हो, उनले भने ।

आफ्नो अघिल्लो ३२ महिनाको संसदीय अनुभव सुनाउँदै बर्तौलाले मध्यवर्ती क्षेत्रका जंगली जनावर र मानवबीचको द्वन्द्व न्यूनीकरण तथा भूमिहीन समस्या समाधानका लागि आफूले नीतिगत तहमा काम गरेको दाबी गरे ।

उनले भने— मैले मध्यवर्ती ऐन तथा वन ऐनको संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित गराएर राष्ट्रिय सभामा पठाएको थिएँ, तर संसद विघटनका कारण उक्त विधेयक हाल शून्य अवस्थामा पुगेको छ । यसलाई पूर्णता दिनु मेरो प्राथमिकता हो । ​यस्तै, पूर्वी राप्ती क्षेत्र तथा चौराह खोला र मूल खोला लगायतका क्षेत्रमा तटबन्धन निर्माणमा आफूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे।

आफूलाई योग्य र अनुभवी उम्मेदवारका रूपमा प्रस्तुत गर्दै बर्तौलाले भने— राजनीति शास्त्र र व्यवस्थापनमा डबल मास्टर्सु गरेको र कानुनमा स्नातक भएर न्यायका लागि वकालत गरिरहेको हिसाबले म नीति बनाउन र कार्यान्वयन गराउन सक्षम छु । उनले अघिल्लो कार्यकालमा संसदको फर्स्ट बेन्चुमा बसेर प्रभावकारी भूमिका निर्वाह गरेको अनुभव समेत साटे । निर्वाचन परिचालन कमिटीका सहसंयोजक एवं संविधान सभा सदस्य राजाराम स्याङ्तानले बर्तौलाको उत्साहजनक अभियानबारे जानकारी दिए । उनले भने— हामी सेनाहरू विजयको झण्डा फहराएर मात्रै थकाइ मार्छौं भन्ने संकल्पका साथ मैदानमा छौं ।

​आज हाँडिखोलामा भएको भेटघाटमा एमाले मकवानपुरका जिल्ला कमिटी सदस्यहरू कृष्ण लामिछाने, लक्ष्मण उप्रेती, बीरेन्द्र डीसी, निर्वाचन क्षेत्र फोकल पर्सन आशिष अस्लामी, युवा नेता बिरु मिजार, विद्यार्थी नेता प्रभाष घिमिरे लगायतको सक्रिय सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*