सीताले कहिले न्याय पाउने ?
२२ जनवरीको दिन अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा भयो । त्यो भारत र नेपालमा मात्र होइन विश्वभरी छरिएर रहेका करोडौं हिन्दुहरुको लागि ठूलो खुसी र गौरवको विषय बन्यो । त्यो राम मन्दिर बन्नलाई रामभक्तहरुले ५ सय वर्ष सघर्ष गर्नुपर्यो । पिताको वंश तेमुरलेनको र माताको वंश सम्बन्ध चेंगिज खानसँग भएका उज्वेकस्तानमा जन्मी दिल्लीका लोदी बादशाहलाई हराएर सुल्तान बनेका बाबरले सन् १५२८ मा राम जन्मस्थलमा राम मन्दिर तोडेर बाबरी मस्जिद बनाएका थिए । हिन्दुहरुको पवित्र स्थल अयोध्यामा राम मन्दिरको पनुर्निर्माणका लागि ५ शताब्दी लामो सघर्ष चल्यो । त्यो सघर्षमा हजारौं मानिसहरु मारिए, अनेकौं सघर्ष र मुद्दा मामिला चले, तर भारतको सर्वोच्च अदालतले सबै प्रमाण हेरी त्यो स्थल हिन्दु ट्रस्टलाई हस्तान्तरण गर्ने निर्णयले खोलिदिएको मार्गले अयोध्यामा राम मन्दिर बन्न संभव भयो । यसरी सत्ययुगमा कैकेयीको माग बमोजिम १४ वर्ष बनावास पठाइएका रामलाई बाबरले कलियुगमा ५ सय वर्ष सुकुमबासी बनाए र २२ जनवरीका दिन उनै रामको रामलल्लाको रुपमा गृह प्रवेश भयो ।
विवेकशील भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको सुझबुझ र सनातन धर्मप्रति आस्थाको कारणले यो संभव भएको हो नत्र यो कार्य पूरा हुन अझै कति वर्ष लाग्न सक्थ्यो त्यसको अन्दाज गर्न गार्हो छ । सन् १८८५ देखि नै रामजन्मभूमि तथा बाबरी मस्जिदको यो मुद्दा अदातलमा करिब डेढ सय वर्ष चल्यो । तर अनन्तः रामजीलाई न्याय मिल्यो ।
तर सीता अझै पनि अन्याय मै छिन् । सीताले रामको राज्याभिषेक हुना साथै १४ वर्षकोलागि बनवास जानु पर्यो । सीता पतिलाई छोडेर दरबार मै बस्न मानिनन् । रामका तीनै भाई लक्ष्मण, भरत र शत्रुघनको सीताकी काकाकी तीन पुत्रीहरुसँग विवाह भएको थियो । रामले सीतालाई आफुसँगै बनवास नजान सम्झाए तर सीता मानिनन् र रामसँगै वनवास गइन् । १४ वर्षको वनवास कति कष्टप्रद होला त्यो हामीले कल्पना गर्न सक्दैनौं । रामायणमाथि बनेको चलचित्र, टिभी सिरियलहरुमा आनन्दसँग राम र सीता जंगलमा विचरण गरिरहेको देखाइएजस्तो पक्कै थिएन । कुनै गाउँमा आश्रय लिनु वनवासको सर्तको उल्लघन मानिन्थ्यो । जंगलमा प्रवासको जीवन एक दुःखद अनुभव हो ।
किराहरुको प्रकोप र हिंसक जनावरहरुबाट बच्नु, भोजन पानीको उचित बन्दोवस्त गर्नु, रोग र संक्रमणबाट जोगिनु, घुमन्ते जीवनलाई स्वीकार गरी मनमा सन्तुष्ट हुनु कठीन कुरा हो । हामी नै जब हप्ता दुई हप्ताको लागि कतै पदयात्रामा जान्छौं, हाम्रो शरीर त्यही अवस्थामा हुँदैन, थकानले अनुहारलाई बिगारिसकेको हुन्छ, र शरिर एक स्थिर विश्रान्त अवस्थामा फर्किन चाहान्छ । सीताले वनावासको सबै दुःख पतिसँग वरण गरिन् । वनवास कै कठीन समयमा रावणबाट अपहरणको अपमान पनि सहनु पर्यो । जति दवाव र प्रलोभन दिएपनि उनले रावणको प्रस्तावलाई स्वीकार गरिनन् र अशोकवाटिकामा रुखको मुनी बसेर आफ्नो सतित्वको रक्षा गरिन् । त्यो उनको संकल्प शक्तिको विजय हो । वनवासबाट फर्किसके पछि पनि उनी दरबारमा सुखपूर्वक बस्न सकिनन् । उनले आफ्नो सतित्वको अग्निपरिक्षा पनि दिनु पर्यो ।
उनी गर्भवती कै संवेदनशील अवस्था मै राजदरबारबाट निष्कासनको अपमान पनि सहनु पर्यो । लोकमतको रक्षाको नाममा उनीलाई पुनः वनैमा निष्कासित गरियो । नेपाल मै जन्मेकी किशोरीलाई गर्भवती अवस्था कै जटिल समयमा फेरि नेपाल कै बाल्मिकी आश्रममा आएर शरण लिनु पर्यो । उनीले त्यहीँ जुम्ल्याहा अधिराजकुमार लव र कुशलाई जन्म दिइन् । जनकको दरबारमा सुखसयलमा हुर्केकी राजकुमारीले जंगलमा प्रचण्ड असुविधा भोग्नु पर्यो । सो दुःख र असुविधाबाट उनी कहिल्यै मुक्त हुन सकिनन् र पुनः राजमहल फर्किन सकिनन् । जुन धर्तिमाताबाट शिरध्वज जनकले उनलाई भेटाएका थिए फेरि त्यही धर्तिमा उनीले शरण लिएर विलिन हुनु पर्यो । उनका जीवनका अधिकांश समय गहन दुःख र असुविधा मै बित्यो ।
आज रामको मन्दिर त बन्यो । सँगै सीताको मन्दिर पनि बन्नु पर्ने थियो । कृष्णको मन्दिरमा राधाकृष्णको मूिर्त हुन्छ, त्यस्तै रामको छेउमा सीताको स्थान हुनुपर्ने हो, त्यसले सीतालाई पनि न्याय दिन्थ्यो त्यो पनि भएन । नेपालबाट सीताको मूर्ति बनाउन १६ र १४ टनका शीलाहरु लगिएको थिइयो । त्यसबाट रामसीताको मूर्ति बन्ला भन्ने परिकल्पना गरिएको थियो तर त्यो पनि भएन ।
वृन्दावनमा कृष्णको दर्शन गरेपछि हामी राधाको दर्शन गर्न बर्साना जान्छौं । बर्साना राधाको गाउँ हो । त्यहाँ राधाको दुईवटा विशाल सुन्दर मन्दिर छन् । हजारौं भक्तहरु प्रत्येक दिन मन्दिरको दर्शन गर्न बर्साना पुग्छन् । राधाको दर्शन नगरिञ्जेलसम्म कृष्ण दर्शन पूरा हुँदैन । प्रत्येक चोटि वृन्दावन जाँदा म पनि बर्साना जाने गरेको छु ।
त्यस्तै रामको दर्शन गरेपछि सीताको जन्मस्थल जनकपुरधामको दर्शन पछि मात्र यो पवित्र यात्रा पूरा भएको मानिन्छ । जनकपुरको सीताको मन्दिर सीताको लागि राधाको बर्साना जस्तै हो । अयोध्या र जनकपुरको बीचमा खासै ठूलो दूरी पनि छैन । सिधा दूरी ३७२ किमी हो भने राजमार्गको दूरी ४३४ किमी र रेलमार्गका दूरी ४६२ किमी मात्रै छ । सुपरफास्ट ट्रेनहरु चलिरहेको भारतमा यो ४–५ घण्टाको यात्रा मात्रै हो । तीर्थयात्रीहरु विहान आएर दर्शन गरेर बेलुका फर्किन सक्छन् ।
अयोध्यामा भव्य रेल स्टेसन बनेको छ त्यस्तै त्यहाँ भव्य महर्षि वाल्मिकी अन्तर्राष्ट्रिय एयरपोर्ट पनि बनेको छ । अयोध्या अब एक अन्तर्राष्ट्रिय शहर भइसक्यो । त्यहाँ पाँच तारे होटलहरु साथै अन्तर्राष्ट्रिय सुविधा सहितको पूर्ण रुपमा वैकल्पिक सौर्य उर्जा आधारित शहर बनाउने भारत सरकारको योजना छ । केही समयपछि नै प्रत्येक दिन एक देखि डेढ लाख धार्मिक पर्यटक, तीर्थयात्री र श्रद्धालुहरु अयोध्या पुग्ने अनुमान छ । करिब ४ करोड धार्मिक पर्यटक वार्षिक रुपमा अयोध्या पुग्ने अनुमान छ । मन्दिर निर्माणाधिन अवस्था मै २०२२ मा २ करोड २१ लाख मानिसले अयोध्याको भ्रमण गरे । राम मन्दिरको निर्माण पछि नेपाल, भारत र विश्वका अनेकौं मुलुकमा बस्ने हिन्दुहरु अयोध्या पुग्नेछन् र यो संख्यामा उल्लेख्य वृद्धी हुँदै जानेछ । अयोध्याको त कायाकल्प भयो त्यही उदारदृष्टिले सीता जन्मस्थल जनकपुरधाम र सीताले भूमिसमाधि लिएको बाल्मिकी आश्रमले पनि न्याय पाउनु पर्ने हो । यसले नेपालको धार्मिक पयर्टनको बृद्धीलाई ठूलो उछाल दिनेछ । अयोध्यामा आएर सुविधामा बसेको पर्यटकहरुलाई त्यही सुविधा दिन जनकपुरको पनि कायाकल्प हुन जरुरी छ ।
सीतासँगको अन्यायको अन्त छैन । बाल्मिकी आश्रम जहाँ सीताले लव र कुशलाई जन्म दिइन् र अन्ततः भूमिसमाधि लिइन, त्यो ठाउँ अहिले खुल्ला जेल जस्तो छ । २१ औं शताब्दीमा त्यहाँ न मोबाइल लाग्छ, न बत्ती छ, न पानी छ, न सडकले जोडिएको छ । पैदल जाँदा जंगलको बीचमा चारैतिरबाट दिउँसै जनावर आउँछन् । त्यहाँ केही घण्टा विश्राम गर्ने व्यवस्था भएको न कुनै धर्मशाला नै छ । त्यहाँ दर्शन गरेर तुरुन्तै भागेर आउनुपर्छ । त्यो क्षेत्र नेपाल र भारतको सीमामा पर्छ । उता बाल्मिकीनगरमा बिहार सरकारले अरबौं रुपैयाँ खर्च गरेर अन्तर्राष्ट्रिय सभागृह र स्तरिय आधुनिक सुविधाजनक होटलहरुको निर्माण गरिसकेको छ ।
५ सय वर्ष पछि रामले त न्याय पाए तर सीता त अहिले पनि अन्याय मै छिन् । रामलाई न्याय दिलाउन रामभक्तहरुले ठूलो संघर्ष र त्याग गरे, सीतालाई न्याय दिलाउनलाई सनातनीहरुले त्यस्तै त्याग र संघर्ष गर्नुपर्ने अवस्था छ । नेपालका रामभक्तहरुलाई जोडदारसाथ नेपाल र भारत सरकारका सामु यो विषय उठाउन म हार्दिक आग्रह गर्दछु । बाल्मिकी आश्रमको दुर्दशा देखेर आँखाबाट आँशु झर्दछ । त्यहाँ मानिसहरुलाई लालटिन बालेर बस्नु परेको छ । शौचको कुनै उचित व्यवस्था छैन । त्यहाँ अविलम्ब नेपाल सरकारले बिजुली, इन्टरनेट र सडकको व्यवस्था गर्नु पर्छ । भारततिर त्यहाँ पुग्यो भने पुलबाट भारत पुगेर गाडी छोडेर पैदल जंगल छिर्नुपर्छ । वर्षौं आवाज उठेपछि बल्ल नेपाली भूमिबाट झोलुंगे पुल त बन्यो तर उही हाम्रै नेपाली विकासे पाराको विडम्बना – बनाउने र अन्तिममा उपयोग गर्न नसक्ने नियति त्यो पुलले खेप्नु परेको छ ।
वर्षौंको मागपछि बनेको पुलमा आवागमन नेपाल सरकारबाटै रोक लगाइएको छ । त्यो पुल चालु भइदिएको भए नेपालको त्रिवेणीघाटबाट नदी पार गरेर नेपाल कै त्यो क्षेत्र बाल्मिकी आश्रम पुग्न सकिन्थ्यो । सीमा चौकी र भंसारको झन्झट बेहोर्नु पर्ने थिएन । पुलका किनाराबाट करिब ३ किमीको दूरीमा साना विद्युतिय सवारी साधनहरु चलाएर त्यो क्षेत्रमा पर्यटकहरुलाई सुविधासाथ मिनेट मै पुर्याउन सकिन्थ्यो । यति सानो काम पनि पुरा गर्न कसैमा कुनै चासो, उत्सुकता नभएको कारण अत्यन्त समस्याहरु झेलेर भारतको सीमाबाट घनघोर जंगल भएर हिडेर जानुपर्छ । वर्षाको समयमा खोलानालामा पानी बढेपछि हिडेर पुग्न पनि खतरनाक हुन्छ । त्यसैले नेपालकी राजकुमारी सीताले जन्मेको पवित्र ठाउँ जनकपुरधाम र सीताले भूमिसमाधि लिएको बाल्मिकी आश्रमले अब अयोध्या जस्तै न्याय पाउनु पर्छ ।
अयोध्याबाट जनकपुर हवाई यात्राद्वारा ३० मिनेट पुग्न सकिन्छ । अयोध्यामा गरिएझै जनकपुरको धावनमार्गलाई लम्ब्याएर २५ सय मिटर जतिको क्षमता भएको अन्तर्राष्ट्रिय उडान गर्न सक्ने दृष्टिले एयरपोर्टको स्तरोन्नती तुरुन्त गरिहाल्नु पर्छ । २ सय सिटवाहक जहाजहरु अवतरण गर्न सकून । अहिले तिव्रगतिले चल्ने रेलहरु बनिरहेका छन्, त्यसैबाट ४ घण्टामा अयोध्याबाट जनकपुर आउन सकिन्छ । त्यसैले जनकपुर र अयोध्यालाई आधुनिक वायु, रेल र सडकमार्गबाट जोडौं । रामले न्याय पाए सीतालाई पनि न्याय दिलाऊ । सबै रमम भक्तलाई यो विषयलाई नेपाल र भारत सरकार समक्ष अविलम्ब उठाउन जोडदार आग्रह गर्दछु ।







