चलचित्र ‘मोदीबेनी’को पोस्टर सार्वजनिक, श्रावण १८ मा रिलिज

जनपत्र
२४ जेष्ठ २०८१, बिहीबार १५:५१

यहीँ श्रावण १८ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘मोदीबेनी’को दुई पोस्टर सार्वजनिक गरिएको छ।

निर्माण टिमले चलचित्रका प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरेको हो।

पोस्टरमा यसै चलचित्रबाट डेब्यु गरेका अभिनेता श्रेष्ठलाई ‘एङ्ग्री योङ म्यान’को रूपमा देखाइएको छ। उनी कुनै पहाडी इलाकामा हातमा बाँसको मोटो लट्ठी समाएर रिसाहा भावमा उभिएका छन्।

उनको गालामा चिथोरिएको दाग छ, हातमा टाँका लगाइएको छ भने उनले नाडीमा खतराको सङ्केत भएको कालो ब्रासलेट लगाएका छन्। अमरले यो चलचित्र गर्नुअघि ‘ओजस थिएटर’मा अभिनय प्रशिक्षण लिई केही नाटकमा अभिनय गरेका थिए।

अभिनेत्री सिवाकोटीलाई पोस्टरमा रहस्यमय अवतारमा देखाइएको छ। उनी पनि कुनै पहाडी इलाकामा उभिएकी छन्। उनको पछाडि उकालो बाटो छ।

उनी थोरै बुट्टा भएको सेतो कपडामा छिन्। यस चलचित्रमा वर्षा अमरको जोडीको रूपमा भएता पनि पोस्टर भने अलग अलग सार्वजनिक गरिएको छ।

‘मोदीबेनी’का निर्देशक शङ्कर कोइरालाले चलचित्रको कथामा आधारित रहेर पोस्टर तयार पारिएको बताए। उनले यस चलचित्रमा अभिनेता अमर एक्सन प्रधान भूमिकामा रहेको खुलासा गरे।

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो चलचित्रको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने उनले बताए। चलचित्रमा बदलाको कथा रहेको उनले जनाए।

सार्वजनिक पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन्। उनले आफूले पोस्टरहरूमा बदला र पीडालाई देखाउनु पर्ने रहेकोमा सोही अनुरूप डिजाइन गरेको बताए।

यस चलचित्रमा अमर र वर्षा सहित रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्।

दिलीप के।सी निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रमा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ।

चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*