शाहरुख खानको एनजीओलाई भारत सरकारको अनुमति, वैदेशिक अनुदान पाउन सक्ने
बलिउड अभिनेता शाहरुख खान फिल्म सुपरस्टार मात्र होइनन्, उनले आफ्नो गैरसरकारी संस्था मीर फाउण्डेसनबाट धेरै महिलाको जीवनस्तरमा पनि सुधार ल्याएका छन् । द इकोनोमिक टाइम्सको रिपोर्टअनुसार, यो अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई भारतीय गृह मन्त्रालयले औपचारिक मान्यता समेत दिएको छ ।
विदेशी योगदान दर्ता ऐनमा सूचीकृत गर्दै यो आइएनजीओलाई गृह मन्त्रालयले ५ वर्षको लागि अनुमति दिएको छ । यसको अर्थ, अब मीर फाउन्डेसनले विदेशी अनुदान प्राप्त गर्न सक्नेछ । भारतीय मूलका विदेशी नागरिकले पनि शाहरुखको यो फाउण्डेसनलाई सहायता पठाउन सक्छन् ।
यद्यपि, गैरआवासीय भारतीय (एनआरआई), जो अझै पनि भारतीय राहदानी बोक्छन्, यो इजाजतपत्रको नियमभित्र समावेश छैनन् । मे ३१, २०२४ मा सरकारबाट लाइसेन्स प्राप्त गरेको मीर फाउन्डेसन एसिड आक्रमण पीडितको लागि काम गर्दछ जसलाई शाहरुखले सुरुवात गरेका थिए ।
इकोनोमिक टाइम्सको रिपोर्टमा उल्लेख भएअनुसार, भारतमा गैसरकारी संस्थाले सांस्कृतिक, आर्थिक, शैक्षिक, धार्मिक वा सामाजिक कार्यक्रमजस्ता निश्चित उद्देश्य लिएर इजाजतपत्रको लागि आवेदन दिन सक्छन् ।
कोभिड–१९ महामारीको पहिलो लहरको समयमा मीर फाउन्डेसनले शाहरुखको कार्यालयलाई एसिम्प्टोमेटिक (लक्षणविहिन) बिरामीको लागि क्वारेन्टाइन केन्द्रमा परिणत गर्न मद्दत ग¥यो । त्यसपछि यसलाई गम्भीर बिरामीको लागि आईसीयूमा परिणत गरियो । मीर फाउन्डेसनले यस केन्द्रमा दिनरात सुरक्षा, हाउसकिपिङ, वाटरप्रुफिङ तथा ओछ्यान र खानाको मर्मत तथा व्यवस्था गरेको थियो ।
फिल्मको कुरा गर्दा, शाहरुख अभिनित ‘पठान’, ‘जवान’ र ‘डंकी’ ब्लकबस्टर भए । उनी अर्ब सुजोय घोषको फिल्म ‘किङ’मा छोरा सुहाना खानको सह-कलाकारको भूमिकामा देखिनेछन् ।







