दिनमा १ सय पटकसम्म प्रेमीलाई फोन गर्ने किशोरी, ‘लभ ब्रेन’ नामक मानसिक समस्या पुष्टि
चीनमा एक १८ वर्षीया किशोरी आफ्नो ब्वाइफ्रेन्डसँग यति धेरै आशक्त बनिन्, उनी हरेक समय ब्वाइफ्रेन्ड के गर्दैछन् भनेर चियोचर्चा गर्न थालिन् । दिनमा १ सय पटकसम्म फोन गर्ने ती किशोरीमा अन्ततः ‘लभ ब्रेन’ नामक मानसिक समस्या रहेको पत्ता लाग्यो ।
चिनियाँ सञ्चारमाध्यम यून्यू न्यूजका अनुसार सियायू नाम गरेकी ती किशोरी सिचुवान प्रान्तकी हुन् । विश्वविद्यालयको पहिलो वर्षमा अध्ययनका क्रममा उनी प्रेममा परेकी थिइन् । तर, प्रेमीप्रतिको उनको आशक्तिले दुवैको जीवन नरक बनाएको थियो ।
छेङ्दुको द फोर्थ पिपल्स अस्पतालका डाक्टर डू नाका अनुसार सियायू चाँडै प्रेमीप्रति अप्राकृतिक रूपमा आशक्त बनेकी थिइन् । उनी हरेक समय आफ्नो प्रेमी कहाँ छन् भनेर जान्न चाहन्थिन् । प्रेमीले केही मिनेटमात्र ढिला रिप्लाई गरे अत्तालिन थाल्थिन् ।
कसैलाई यो प्रेमिकाको सामान्य व्यवहार जस्तो लाग्ला तर डाक्टरका अनुसार सियायू ‘लभ ब्रेन’ नामक दुर्लभ मानसिक समस्याबाट ग्रसित बनेकी थिइन् । ‘प्रेमीले तत्कालै मेसेजको जवाफ फकाओस् भन्ने उनी चाहन्थिन्,’ डा. डूले भने, ‘एक दिनले सियायूले प्रेमीलाई १ सयभन्दा बढी पटक फोन गरेछिन् ।’ मेसेजको जवाफ नफर्काएपछि उनले दुवै जना अपार्टमेन्टमा तोडफोड गरिन् । जब प्रेमी त्यहाँ आइपुगे, सियायूले बार्दलीबाट हामफाल्ने धम्की दिइन् ।
त्यसपछि प्रेमीले पुलिसलाई खबर गरे । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अस्पताल लगेको थियो । जहाँ उनलाई ‘लभ ब्रेन’ नामक ‘बोर्डरलाइन पर्सनालिटी डिसअर्डर’ रहेको पाइएको थियो ।
लभ ब्रेनको सामान्य अवस्थामा मानिसहरू आफै सामान्य जीवनमा फर्कन सक्छन् । तर, सियायूजस्तो गम्भीर अवस्थामा उनीहरूलाई स्वास्थ्योपचार नै आवश्यक हुन्छ । डा. डूले बच्चाहरू बढ्ने क्रममा आमाबुबाबिच राम्रो सम्बन्ध नहुँदा प्रायः यस्तो समस्या देखिने जानकारी दिए ।
सियायूको कथा चीनको सामाजिक सञ्जालमा भाइरल बनेको छ । यसले मानिस स्वास्थ्यबारे ठुलो बहस सिर्जना गरेको छ । त्यस्तै, प्रेम सम्बन्धमा नियन्त्रणमुखी व्यवहारको विषयमा बहस भएको छ ।
एजेन्सी







