कोरियाले सन् २०२५ देखि ईपीएसका लागि मागको तेब्बर बढीमात्रै आवेदन लिने

जनपत्र
२१ बैशाख २०८१, शुक्रबार १५:४५

दक्षिण कोरियाले कोरियन भाषा परीक्षाका लागि माग सङ्ख्याको तेब्बर बढीमात्रै आवेदन लिने भएको छ । सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया भाषा परीक्षाका लागि माग सङ्ख्याको तेब्बर बढीमात्रै आवेदन लिने भएको हो ।

त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग ईपीएस कार्यालय, एचआरडी कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि यस्तो सहमति भएको हो ।

माग सङ्ख्याको आधारमा निकै बढी आवेदन पर्न थालेको भन्दै आवेदनकर्ताको लागि सीमा तोकिएको हो । ईपीएस कोरिया शाखाकी निर्देशक मैया कँडेलले सन् २०२५ देखि मागसङ्ख्याको तेब्बर बढीमात्रै आवेदन सङ्कलन गरिने बताइन्

माग सङ्ख्याको तेब्बर बढी आवेदन परेसँगै अटोमेटिक रूपमा फारम बन्द हुने उनको भनाइ छ । ‘जस्तै कोरियामा यो वर्ष १ हजार कामदार लैजाने हो भने तीन हजार जना पास गरेर रोष्टर सूचीमा राखिन्छ । त्यसका लागि ९ हजार जनाको मात्रै आवेदन लिइनेछ । ९ हजार जनाको आवेदन पुग्ने बित्तिकै अनलाइन आवेदन फारम अटोमेटिक बन्द हुनेछ,’ निर्देशक कँडेलले भनिन् ।

आवेदनकर्ताको चाप निकै बढी हुने वर्षभरि नै परीक्षा गर्नुपर्ने बाध्यता अन्त्य गर्न यस्तो व्यवस्था गर्न लागिएको उनको भनाइ छ । ‘त्यसो भयो भने आवेदन दिनेको चाप धेरै हुँदैन र वर्षैभरि जाँच गरिराख्नुपर्ने अवस्था पनि आउँदैन,’ उनले भनिन् ।

सबै सेक्टरका लागि एकै पटक आवेदन आह्वान

सन् २०२५ देखि कोरियाले लैजाने सबै क्षेत्र (सेक्टर)का लागि एकै पटक आवेदन आह्वान गर्ने भएको छ । हाल कोरियामा विभिन्न चार क्षेत्रमा काम गर्न नेपाली कामदार जाने गरेका छन् । त्यसका लागि फरकफरक समयमा आवेदन आह्वान गर्ने गरिएको छ । जसले गर्दा कोरियन भाषा पढेर कोरिया जान तयार रहेकाहरूले सबै क्षेत्रमा आवेदन दिने गरेका छन् ।

अब भने वर्षको एक पटक सबै क्षेत्रका लागि आवेदन आह्वान गर्न लागिएको निर्देशक कँडेलले बताइन् । ‘कृषितर्फ, सिप बिल्डिङ, उत्पादनमूलक तथा सर्भिस क्षेत्र सबैका लागि एकै पटक आवेदन आह्वान गरिनेछ । कोरियाले कति कामदार लैजाने हो, त्यो कोटा एकै पटक दियो भने त्यही आधारमा फारम भर्ने र परीक्षा गर्न खोजिएको छ,’ उनले भनिन् ।

त्यस्तो गर्दा एक क्षेत्रका लागिमात्रै आवेदन दिन पाउने र अर्को क्षेत्रका लागि आवेदन दिन नपाउँदा चाप पनि कम हुने उनको भनाइ छ ।

कोरियाले एक वर्षमा एक जनालाई एउटा क्षेत्रमा मात्रै फारम भर्न नपाउने व्यवस्था गरेको छ । तर, सन् २०२३ मा सिप बिल्डिङका लागि आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रका लागिसमेत फारम भर्ने अवसर पाएका थिए ।

आफूहरूले फारम भर्न नपाएको भन्दै उनीहरूले आन्दोलन नै गरेका थिए । आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको थियो । त्यसपछि कोरिया सिप बिल्डिङमा आवेदन दिएकाहरूलाई समेत उत्पादमूलक क्षेत्रका लागि आवेदन फारम भर्न दिने व्यवस्था गरिएको थियो ।

सन् २०२३ मा कोरियाले उत्पादनमूलक क्षेत्रमा लैजान अनुमानित १५ हजार ४४८ जनाको लागि आवेदन आह्वान गरेको थियो । जसमा एक लाख ६३ हजार ६३५ जनाले आवेदन फारम भरेका थिए ।

ईपीएसमार्फत कोरिया जान खोज्नेहरूको सङ्ख्या प्रत्येक वर्ष बढ्दै आएको छ । कोरियाले माग पनि बढाउँदै लगेको छ । तर, मागको आधारमा निकै बढी आवेदन दिने गरेका छन् । जसले गर्दा एकातिर वर्षभरि नै परीक्षा गर्नुपर्ने बाध्यता छ भने अर्कोतिर आवेदन शुल्कका नाममा करोडौँ रूपैयाँ कोरिया गइरहेको छ ।

‘हामीले निर्णय पनि गरिसकेका छौँ । मागको तुलनामा तेब्बर सङ्ख्यामा आवेदन पुगेपछि अटोमेटिक बन्द हुन्छ । अब पास हुन्छु भन्ने कन्फिडेन्स भएकाहरूले मात्रै भर्न पाउने भए । जोसँग कन्फिडेन्स छैन, यसले भर्ने भएनन्,’ निर्देशक कँडेलले भनिन् ।

अनिवार्य पीसीआर हट्यो  

ईपीएसमार्फत कोरिया जाने श्रमिकहरूले अनिवार्य रूपमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्नुपर्ने व्यवस्था थियो । कोरोना रिपोर्ट नेगेटिभ आएको खण्डमा मात्रै कोरिया जान पाइरहेका थिए । अबदेखि भने कोरियाले अनिवार्य रूपमा पीसीआर परीक्षण गराउनुपर्ने व्यवस्था हटाएको छ ।

निर्देशक कँडेलले कोरियाले पीसीआर चेक गर्नुपर्दैन भनेर पत्र पठाएको जानकारी दिइन् । कोरोना महामारी सुरू भएसँगै कोरियाले आफ्नो देशमा आउने श्रमिकलाई अनिवार्य रूपमा कोरोना परीक्षण गर्नुपर्ने व्यवस्था गर्दै आएको थियो । कोरोना महामारीकै डरले कोरियाले पीसीआर अनिवार्य गर्नुका साथै सिधा हवाई उडान मार्फत मात्रै श्रमिक लैजाने व्यवस्था गरेको थियो ।

कोरोना महामारी अन्त्य भए पनि कोरियाले केही समय अगाडिसम्म पनि पीसीआर अनिवार्य गरेको थियो । केही दिन अगाडिमात्रै पत्राचार गरेर पीसीआर परीक्षणको व्यवस्था हटाएको जानकारी दिएको निर्देशक कँडेलले बताइन् ।

सिधा उडानबारे छलफल

कोरिया जाने श्रमिकहरू हाल निकै महँगो हवाई टिकट काट्न बाध्य छन् । हाल नेपालबाट कोरिया जान कोरियन एयरलायन्स मात्र उपलब्ध छ । कोरोना महामारीपछि कोरिया सरकारले सिधा उडानबाटै कामदार लैजाने व्यवस्था गरेको थियो ।

हवाई टिकट घटाउन तथा सिधा उडानको विकल्पबारे नेपालले पटकपटक कोरियासँग छलफल गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल तथा एचआरडी कोरियाका अधिकारीहरूबिच केही दिन अगाडि भएको भेटमा उक्त विषयमा समेत छलफल भएको थियो ।

छलफलको क्रममा नेपालले सिधा उडानभन्दा ट्रान्जिट मार्फत कामदार लैजान माग गरेको थियो । नेपालले यस विषयमा पटकपटक कोरियन सरकारसँग ताकेता गर्दै आए पनि कोरिया यो विषयमा सकारात्मक देखिएको छैन ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*