चीनले तयार गर्‍यो चन्द्रमाको अहिलेसम्मकै विस्तृत नक्सा

जनपत्र
१९ बैशाख २०८१, बुधबार १५:५७

चीनले चन्द्रमाको सबैभन्दा विस्तृत नक्सा तयार पारेको छ। यो भौगोलिक नक्सा हो, जसमा चन्द्रमाको सतहमा रहेका सबै चिजलाई निकै सूक्ष्म तरिकाले देखाइएको छ।

यो नक्सामा चन्द्रमाको सतहमा उल्कापिण्डहरु ठोक्किएर बनेका खाडल अर्थात् क्रेटरहरु पनि देख्न सकिन्छ।

चाइनिज एकेडेमी अफ साइन्सेसको इन्स्टिच्यूट अफ जियोकेमिस्ट्रीका वरिष्ठ शोधकर्ता लियु जियानझांगका अनुसार यो नक्सामा देखिने चन्द्रमाको सतहको विस्तृत चित्र तथा क्रेटरहरुले ध्यानाकृष्ट गर्दछन् । ती स-साना खाडलहरु इम्प्याक्ट क्रेटर हुन् जो उल्कापिण्डसँग ठोक्किएका कारण चन्द्रमामा बनेका हुन् र बनिरहेका छन् ।

लियुका अनुसार नक्सामा चन्द्रमाका सबै क्रेटरहरु समावेश गरिएको छ । त्यसमा सबैभन्दा ठूलो इम्प्याक्ट क्रेटर त पूरा बेसिन छ । जसलाई इम्प्याक्ट बेसिन भनिन्छ । यसको व्यास २ सय किलोमिटर छ ।

हरेक खाडललाई त्यसको उमेरको हिसाबले फरक फरक रंगमा बाँडिएको छ । यसमा बैजनी रंगवाला खाडल सबैभन्दा पुरानो इम्प्याक्ट क्रेटर हो ।

चीनका वैज्ञानिक तथा स्याटेलाइट तस्वीर बनाउने नक्साविदहरुले सन् २०१२ देखि नै चन्द्रमाको नक्सा तयार पार्ने काम सुरु गरेका थिए ।

चीनको चांगी १ तथा चांगी २ मार्फत् धेरै तस्वीर प्राप्त भएका थिए । त्यसका अलावा अर्बिटरले पनि लगातार चन्द्रमाको तस्वीर लिइरहन्छ । सन् २०१३ तथा २०१९ मा चांगी ३ र चांगी ४ प्रक्षेपण गरिएको थियो ।

उल्लेखित चारवटै मिसनबाट चीनले चन्द्रमाका सबै कोणका तस्वीर प्राप्त गरेको छ । ती सबैलाई संयोजन गरेर चीनले चन्द्रमाको विशालकाय तथा सबैभन्दा विस्तृत नक्सा तयार गरेको हो ।

चांगी ५ ले त चन्द्रमाको नियर साइड अर्थात् हामीले पृथ्वीबाट देख्ने हिस्साको नमुना सन् २०२० मै संकलन गरेको थियो र उक्त नमूना पृथ्वीमा ल्याइसकिएको छ । चिनियाँ वैज्ञानिकहरुले सो नमूनाको अनुसन्धान गरिरहेका छन् ।

चीनले यसै वर्ष चांगी ६नामक मिसन चन्द्रमामा पठाउने तयारी गरिरहेको छ । त्यो पनि नमूना संकलन मिसन हुनेछ ।

चीनका प्रसिद्ध चन्द्रमा वैज्ञानिक ओयुयांग जियुआनका अनुसार चीनले तयार पारेको चन्द्र सतहको विस्तृत नक्साले चन्द्रमा सम्बन्धी सम्पूर्ण जानकारी प्रदान गर्दछ । मानव इतिहासमा चन्द्रमाको यतिधेरै विस्तृत नक्सा पहिलोपटक बनेको हो ।

सन् २०३० सम्ममा चन्द्रमामा अन्तर्राष्ट्रिय चन्द्रमा अनुसन्धान स्टेशन बनाउने चीनको योजना छ ।

सन् २०३० सम्ममै चन्द्रमामा आफ्ना अन्तरिक्षयात्री उतार्ने लक्ष्य पनि चीनले राखेको छ ।

अहिले चन्द्रमामा सबैभन्दा पहिले कसले मानिसलाई उतार्ने भन्नेमा होडबाजी भैरहेको छ र यो दौडमा चीन र अमेरिका सबैभन्दा अगाडि छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*