जर्मनीमा एक व्यक्तिले लगाए २१७ पटक कोरोना खोप !
एकजना ६२ वर्षीय जर्मन नागरिकले २९ महिनाको अवधिमा २१७ पटक कोभिड १९ को खोप लगाएका छन् ।
अनौठो त के भने यतिधेरै खोप लगाउँदा पनि उनको शरीरमा न त त्यसको कुनै दूष्प्रभाव परेको छ, न त उनको रोग प्रतिरोधात्मक क्षमता नै कमजोर भएको छ ।
नाम नखुलाइएका ती व्यक्तिको सम्बन्धमा एउटा मामिला अध्ययन रिपोर्ट द लान्सेट इन्फेक्सस डिजिजेस नामक जर्नलमा प्रकाशित भएको छ ।
हालसम्म के मान्यता रहिआएको छ भने धेरै खोप लगाउँदा व्यक्तिमा रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ । तर, ती व्यक्तिले त्यस्तो मान्यता तथा चिन्तालाई पनि चुनौती दिएका छन्
उक्त शोधका सहलेखक किलियम स्कोबरका अनुसार बिरामी पैदा गर्ने किटाणुहरुको लगातार सम्पर्कमा रहनाले टि सेल्स नामक विभिन्न प्रतिरक्षा कोशिाहरु कमजोर हुन सक्दछन् । यसबाट रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ । यो घटनालाई इम्युन टोलरेन्सको रुपमा लिइन्छ ।
ती जर्मन व्यक्तिले अत्यधिक खोप लगाएको घटना शरीरको सहनशीलता तथा कमजोर प्रतिक्रियाको सबूतको रुपमा एउटा उत्कृष्ट मामिला बनेको छ ।
शोधकर्ता स्कोबर र उनको टोलीले समाचारको माध्यमबाट ती व्यक्तिको बारेमा पत्ता लगाएको थियो । अधिकारीहरुले ती व्यक्तिका विरुद्धमा धोकाधडीको अभियोगमा जाँच सुरु गरेका थिए । अनुसन्धानका क्रममा उनले ९ महिनाको अवधिमा १३० पटक कोरोना खोप लगाएको पुष्टि भएको थियो । तर उनीमाथि कहिल्यै पनि कुनै आपराधिक अभियोगमा मुद्दा दर्ता गरिएन ।
स्कोबर भन्छन्- त्यसपछि हामीले उनीसँग सम्पर्क गर्यौं र उनलाई विभिन्न प्रकारका परीक्षण गराउनका लागि बोलायौं । उनलाई यस्तो गर्नुमा निकै रुचि थियो ।
शोधकर्ताका अनुसार ती व्यक्तिले अतिरिक्त ८७ वटा भ्याक्सिन लगाउने सूचना दिए । त्यसमा पनि आठवटा फरक खोप र अपडेट फर्मूलायुक्त थिए ।
शोधकर्ताहरुले २१४औं देखि २१७औं खोपको डोजका क्रममा ती व्यक्तिको रगत तथा र्यालको नमूना संकलन गरे । त्यसपछि ती व्यक्तिको सरीरको प्रतिरक्षा प्रतिक्रियाहरुको तुलना ती २९ जना व्यक्तिहरुसँग गरे जसले आम मानिसहरुले जस्तै जम्मा ३ वटा डोज कोरोना खोप लिएका थिए । यसबाट के पत्ता लाग्यो भने ती व्यक्तिको शरीरमा खोपको अधिक डोजका कारण कुनै पनि दुष्प्रभाव देखिएन ।
चिकित्सा परीक्षणका क्रममा पनि कुनै प्रकारको हाइपरभ्याक्सिनेसनसँग सम्बन्धित असामान्यता देखिएनन् ।
२१७ डोज कोरोना खोप लगाउँदा समेत ती व्यक्तिको रोग प्रतिरोधी क्षमता अन्य आम मानिसहरुको जस्तै पाइयो ।
हरेक पटक खोप लगाउँदा उनको रगतमा खोपको एन्टीबडीको स्तर बढ्ने तर लगत्तै घटेर सन्तुलनमा आउने गरेको देखिएको थियो ।
बीबीसीको सहयोगमा







