बच्चा जन्माउने कर्मचारीलाई १ करोड रुपैयाँ पुरस्कार !

जनपत्र
१ फाल्गुन २०८०, मंगलवार ०६:३४

कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई विभिन्न खालका सुविधाहरु प्रदान गर्छन् ताकि उनीहरुको जीवन सहज होस् । तर, एउटा कम्पनी यस्तो पनि छ जसले आफ्ना कर्मचारीहरुलाई बच्चा जन्माउनका लागि करिब एक करोड रुपैयाँ पुरस्कार दिंदैछ ।

बच्चा जन्माउने कर्मचारीलाई मोटो रकम पुरस्कार दिने दक्षिण कोरियाली निर्माण कम्पनीको नाम हो, बूयोंग ग्रुप ।

एक प्रेस विज्ञप्तिमा सो कम्पनीले यदि आफ्नो कुनै कर्मचारीले सन्तान प्राप्ति गरेमा उसलाई पुरस्कार स्वरुप १० करोड कोरियन वन अर्थात् करिब एक करोड रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

साथै कम्पनीले सन् २०२१ देखि यता बच्चा जन्माएका आफ्ना सबै कर्मचारीहरुलाई पनि पुरस्कृत गर्ने भएको छ । त्यसयता कम्पनीका कर्मचारीहरुले कुल ७० वटा बच्चा जन्माएका छन् । त्यसबापत कम्पनीले कूल ७ अर्ब कोरियन वन पुरस्कारमा खर्चिनुपर्नेछ ।

यो पुरस्कार महिला र पुरुष दुवै कर्मचारीलाई प्राप्त हुनेछ ।

देशमा जन्मदर तीव्र गतिमा घटिरहेको कुरालाई मध्यनजर गर्दै दक्षिण कोरियाली कम्पनीले आफ्ना कर्मचारीका लागि बच्चा जन्माउन प्रोत्साहन गर्ने यस्तो कार्यक्रम अघि सारेको हो ।

हाल दक्षिण कोरियाको जन्मदर ०.७८ मात्रै छ, जुन विश्वकै सबैभन्दा कम प्रजननदर हो ।

दक्षिण कोरियाको तथ्यांक विभागका अनुसार यो दर सन् २०२५ मा ०.६५ मा झर्नेछ । त्यसैले यो निजी कम्पनीले समेत देशप्रतिको आफ्नो दायित्वलाई निर्वाह गर्दै आफ्ना कर्मचारीलाई पुरस्कारबाट आकर्षित गर्दै बढि भन्दा बढी बच्चा जन्माउन प्रोत्साहन गरेको हो।

कम्पनीका अध्यक्ष ली जूंग कियुनका अनुसार यो वित्तीय सहयोगबाट कर्मचारीहरुलाई बच्चाको पालनपोषणका लागि गर्नुपर्ने खर्च जुटाउनमा सहयोग पुग्नेछ । जसका कारण उनीहरु बच्चा जन्माउनमा प्रोत्साहित हुनेछन् ।

साथै कम्पनीले तीनवटा बच्चा हुने कर्मचारीलाई छुट्टै थप सुविधा दिनेछ । त्यस्ता कर्मचारीले कम्पनीले भाडा तिरिदिने घर वा २ करोड रुपैयाँ नगद मध्ये एउटा रोज्न पाउनेछन् ।

स्मरण रहोस् उक्त कम्पनीको स्थापना सन् १९८३ मा भएको हो । कम्पनीले हालसम्म करिब २ लाख ७० हजार घर निर्माण गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*