बोर्डको बजेट झन्डै १८ करोड, यसबाटै फिल्म सिटी र स्टुडियो बनाइने

जनपत्र
१८ असार २०८०, सोमबार ०६:२९

नेपाल सरकार अन्तर्गत नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०८०र८१ को बजेट सार्वजनिक गरेको छ । शनिबार बोर्डको २३औं वार्षिकोत्सवमा बोर्डका सदस्य सचिव विशाल सापकोटाले १७ करोड ९५ लाख ४० हजारको बजेट प्रस्तुत गर्दै भावि कार्यक्रम तथा योजनाबारे जानकारी गराए । उक्त बजेटमा नेपाल सरकारबाट ४ करोड ४५ लाख प्राप्त छ ।

सदस्य सचिव सापकोटाले भने, ‘आर्थिक वर्ष २०८०र८१ मा नेपाल सरकारबाट ४ करोड ४५ लाख र बोर्डको आन्तरिक स्रोतबाट १३ करोड ५० लाख ४० हजार गरी १७ करोड ९५ लाख ४० हजार बजेट विनियोजन भएको छ । यो बोर्डबाट पारित गरेर स्वीकृतिका लागि मन्त्रालयमा पेश गरिएको छ ।’ बोर्डको बजेट दोलखामा फिल्म सिटी र बनेपामा स्टुडियो निर्माणका लागि पनि खर्च गरिनेछ ।

सापकोटाले प्रस्तुत गरेको बजेटमा भनिएको छ, ‘दोलखा फिल्म सिटीलाई सरकारी(निजी साझेदारी प्रक्रियामार्फत निर्माण गरिनेछ र काभ्रेको बनेपामा सुविधा सम्पन्न स्टुडियो निर्माण गरिनेछ ।’ तर, फिल्म सिटी र स्टुडियो निर्माणका लागि बोर्डको बजेट हात्तिको मुखमा जिरा जस्तै हुने देखिन्छ । बोर्डको झन्डै १८ करोडबाट फिल्म सिटी र स्टुडियोका लागि १र२ करोड पनि भाग पुग्ने देखिन्न ।

बोर्डको बजेटको ठूलो हिस्सा कर्मचारीको तलब(भत्तामा सकिन्छ । अवार्ड तथा महोत्सव गर्नेहरुलाई पनि बोर्डले मोटो पैसा बाँड्छ । बोर्ड आफैंले पनि विभिन्न कार्यशाला तथा महोत्सव आयोजना गर्नुपर्ने हुन्छ । यसबाट उघ्रिएको रकम मात्र फिल्म सिटी र स्टुडियो निर्माणलाई छुटिने हो । त्यो रकम फिल्म सिटी र स्टुडियोसम्म पुग्दा एउटा ट्वाइलेट बनाउन समेत नपुग्ने फिल्मकर्मीहरु बताउँछन् ।

बोर्डले देशभरका हलहरुलाई केन्द्रीय व्यवस्थापन प्रणालीमा आबद्ध गराइ बक्स अफिस प्रणाली कार्यान्वयन गर्ने, ऐतिहासिक तथा वृतचित्र निर्माणलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, नेपाली बाहुल्यता रहेको एक देशमा ‘नेपाल सिनेमा मिट’ आयोजना गर्ने, विदेशमा प्रदर्शन हुने नेपाली फिल्मलाई सबटाइटल र इन्कोडिङका लागि आर्थिक सहयोग गर्ने लगायतका योजनाहरु अगाडि सारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*