मुख्यमन्त्री पौडेल निवासमा फलफूलका बिरुवा रोपीयो

हेटौंडा । प्रदेश नम्बर ३ सरकारले बृक्षारोपणको अभियान आजबाट औपचारिक रुपमा सुरु गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवास क्षेत्रमा आज फलफूलको विरुवा रापेर बृक्षारोपणको सुरुवात गरिएको हो । सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णयको कार्यक्रम र तत्कालीन नेकपा एमालेका पूर्व महासचिव एवं चर्चित वामपन्थी नेता मदनकुमार भण्डारीको जन्मदिनका अवसरमा आज बृक्षारोपणको सुरुवात गरिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । हरेक क्षेत्रमा बिरुवा रोप्ने अभियानको आजबाट सुरुवात गरिएको उहाँले बताउनुभयो । यसबर्ष भरीमा प्रदेशका हरेक जिल्लामा पाँच लाख बिरुवा रोप्जने सरकारको योजना छ ।
बृक्षारोपण कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सांसद रामचन्द्र राई, नेकपा मकवानपुरका नेता अनन्त पौडेल लगायतकाले बृक्षा रोपण गर्नुभयो ।
पौडेल निवासमा आज आँप, लिचि, मेवा लगायतका फलफूलका चार सय वटा बिरुवा रोपिएको हो । सरकारले आजबाट देशभर वृक्षरोपण अभियान सुरु गरेको छ । सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेर आगामी तीन वर्ष्भित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना बनाएको छ । त्यही अनुसार प्रदेश सरकारले पनि फलफूलका बिरुवा रोप्न सुरु गरेको हो । आज प्रदेशका सबैजसो कार्यालयमा यो अभियान सुरु गरिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
केन्द्र सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, सातवटै प्रदेश, स्थानीय तह, विश्वविद्यालय, संस्थान, वन उपभोक्ता समिति र गैरसरकारी संस्थाहरुलाई पनि आ–आफ्नो क्षेत्रमा वृक्षरोपण गर्न निर्देशन दिएको छ । त्यही निर्देशनलाई पालना गर्दै तीनै तहका सरकारले यो कार्यक्रम सुरु गरेको हो ।
सरकारको निर्देशनअनुसार राजनीतिक दलका भ्रातृसंगठनहरु पनि वृक्षरोपण कार्यक्रममा सहभागी भएका छन् । मदन कुमार भण्डारीको जन्मदिनलाई पनि आजै बृक्षारोपण गरेर मनाइदै छ । विक्रम संवत २००९ साल असार १४ गते ताप्लेजुङ्गको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो । कुशल नेता र प्रखर वक्ताको रुपमा परिचित भण्डारीले तत्कालीन समयमा भाषण र व्यक्त गरेका विचारको अझैसम्म चर्चा हुने गरेको छ ।
कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिकण गरेर अगाडि बढाउन सफल भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ वा तत्कालीन नेकपा माओवादीले अघि सारेको ‘एक्काइसौँ शताब्दीको जनवाद’ नेकपाको मार्गदर्शक सिद्धान्त बनाउने भन्ने विषयमा अहिले बहस भैरहेको छ । नेकपाले दुवै विचारधारालाई समेटेर नयाँ मार्गदर्शक सिद्धान्त बनाउने तयारी गरेको बताएको छ ।
तत्कालीन समयमा राजालाई नै चुनौती दिन सक्ने खुबी भएका प्रखर वक्ता भण्डारीले २०४७ साल चैत ५ गते काठमाण्डौको चाबहिलमा आयोजित सभामा गरेको बहुचर्चित सम्बोधनको अंश अहिले कम्युनिष्ट भयो भन्दैमा कांग्रेसीहरुले आफ्ना नातेदारलाई समेत बोलाउन छोडेको छ । गाउँगाउँमा मान्छे मरे भने कांग्रेसीहरु कम्युनिष्ट मरे भन्दै मलामी जान छोडेको छ । एउटा कुरा के हो भने झिनो बहुमतले बनेको कांग्रेसको सरकार चिरञ्जीवी छ भन्ने कुराको भ्रम अब उनीहरुले पाल्न छोडे हुन्छ ।
चाहे त्यो एकता केन्द्रको होस् या मसालको होस्, जसले यो देशमा कांग्रेसको एकाधिकारको विरोध गर्छ, जसले जनताको पक्षमा आवाज उठाउँछ, तिनीहरुप्रति हाम्रो नैतिक समर्थन हुन्छ । नेपालको कांग्रेसको सरकार मात्रै होइन अन्तर्रा्ष्ट्रिय रुपमै कांग्रेसलाई निर्देशन दिने बाबुसाहेबलाई पनि तह लगाउन नेकपा एमाले तयार छ । नेपाली कांग्रेसको नीति राष्ट्रघाती छ र जनविरोधी छ । नेपाली काँग्रेसले यो देशको भूभाग विदेशहरुलाई बेचिरहेको छ । नेपाली कांग्रेसले पञ्चायतको छोरा जस्तो भएर काम गरिरहेको छ । पञ्चायतले ३० वर्षमा भन्दा धेरै दमन कांग्रेसले १० महिनामा गरेको छ ।
अहिले कांग्रेसको सरकारले २५ हजार तिरेर मान्छे मारिरहेको छ । यदि २५ हजार तिरेर मान्छे मार्न पाइन्छ भने नेकपा एमाले पनि २५ हजार जम्मा गर्न हिच्किचाउने छैन । यदि त्यसो होइन भने मृतकको परिवारलाई सरकारले तत्काल १ लाख रुपैयाँ दिनुपर्छ । यदि सरकारले जनपक्षीय काम गर्दैन भने गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीको कुर्सीमुनि राँको झोस्ने काम हामी गरिरहन्छौँ । राष्ट्रियता वा प्रजातन्त्रको मसिहा भनेको त जनता हुन् । राष्ट्रियता वा प्रजातन्त्रको भगवान भनेको त जनता हुन् । अब त्यो सार्वभौमसत्ता जनताको हातमा आइसक्यो । चाहे यहाँका ठूला महाराज हुन्, चाहे साना महाराज हुन्, सबैले जनताको सार्वभौमिकतालाई मान्नुपर्छ ।