म्याद थपका लागि लगिएको थुनुवा चढेको गाडी दुर्घटना, दुईको मृत्यु, आठ घाइते

रौतहटमा नम्बर प्लेट नभएको प्रहरीले चलाएको भ्यान दुर्घटना हुँदा दुई जना थुनुवाको मृत्यु भएको छ भने आठ प्रहरी घाइते भएका छन् । गौर–चन्द्रपुर सडकखण्डमा भएको यो घटनामा मृत्यु हुनेमा लागुऔषध मुद्दाका आरोपी चन्द्रपुर नपा–४ का २० वर्षीय मुकेश भन्ने निर्मल साह र सवारी ज्यान मुद्दाका सुनसरी इनर्वा–१ का ४० वर्षीय रमेशकुमार चौधरी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको वीरगञ्ज लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
थुनुवालाई म्याद थप गराउन चन्द्रपुरबाट जिल्ला अदालत गौर लैजाने क्रममा प्रहरीको भ्यान बालचनपुरमा दुर्घटनामा परेको हो । सो भ्यानको अगाडिको पाङग्रा पम्चर भएपछि क्राउन र एक्सल भाँचिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते प्रहरी जवानद्धय हरीकिशोर चौधरी र अजय यादवलाई गउपचारका लागि वीरगञ्ज पठाइएको छ ।
दुर्घटनामा भ्यान चालक प्रहरी सहायक निरीक्षक दिपेश चौलागाई, प्रहरी हवलदारद्वय उमेश यादव र विनोद मण्डल तथा जवान संजिव कार्की घाइते भएका छन् । यसैगरी, अभद्र व्यवहार मुद्दामा आरोपित थुनुवा कुमार गेलाल र टेकबहादुर तामाँग सामान्य घाइते भएका छन् । उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेको गाडी काठ चोरीमा प्रयोग भएर गाडी जिल्ला वन कार्यालयमा कारबाहीका लागि राखिएको थियो । मर्मत नै नगरी सो गाडी चलाइएको थियो ।