फिल्म खेल्न नमान्ने सलिनमान सुन्दरी प्रतियोगिताको निर्णायक

जनपत्र
२४ असार २०७९, शुक्रबार ०८:२८

नेपाली फिल्म क्षेत्रले आशा गरेको अभिनेता हुन्, सलिनमान बनियाँ । फिल्म ‘ए मेरो हजुर २’बाट डेब्यू गरेका उनको अभिनयको आलोचना भएपनि लुक्स, हेयर स्टाइल र पहिरनले दर्शकको ध्यान खिचेको थियो । पहिलो फिल्मबाटै स्टाइलिस अभिनेताको रुपमा चिनिएका उनले युवापुस्तामा राम्रो फ्यान फलोइंग बनाए । दुई वर्षको विश्रामपछि उनले दोस्रो फिल्म ‘यात्रा’मा काम गरेका थिए ।
पहिलो फिल्मबाट सफलताको स्वाद चाखेका उनले दोस्रो फिल्मबाट भने निराशा भोग्‍नुपर्‍यो । तर, फिल्म बक्सअफिसमा सफल हुन नसके पनि अभिनयमा थोरबहुत सुधार र एक्सनमा उनले सम्भावना देखाए । तर, ‘यात्रा’पछि उनको अभिनय यात्रा पनि रोकिएको छ । उनले विगत तीन वर्षयता कुनै फिल्म साइन गरेका छैनन् । अफर भएका सबै फिल्म अस्वीकार गरेर बसेका छन् ।
‘यात्रा’पछि पितालाई व्यवसायमा सघाउँदै आएका सलिनमानले अब आफूले सोचेको जस्तो स्क्रिप्टबाट अफर आए मात्र काम गर्ने अन्यथा फिल्म नै नगर्ने बताउने गरेका छन् । नेपाली फिल्मका नायकहरुमध्ये धनाड्य मानिने उनलाई पैसाका लागि फिल्ममा काम गर्न आवश्यक नभएको बताइन्छ । त्यसैले पनि उनी फिल्ममा फर्किन चित्त बुझ्दो स्क्रिप्टको पखाईमा रहेको जानकारी प्राप्त छ ।
तीन वर्षयता फिल्म खेल्न नमानेका सलिनमान एक सुन्दरी प्रतियोगिताको निर्णायक बन्न भने तयार भएका छन् । ‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’मा उनी निर्णायक रहने आयोजक संस्था फेलिज इन्टरनेशनलले मंगलवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको छ । यो प्रतियोगिताको निर्णायकमा उनका मिल्ने साथी तथा अभिनेता सलोन बस्नेत पनि छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*