नेपालमा फ्रान्सेली फिल्म खिचिँदै, नेपाली कलाकारको पनि अभिनय रहने

जनपत्र
२० असार २०७९, सोमबार ०७:२३

विश्वको ठूलो फिल्म उद्योग मानिने फ्रान्सको एक फिल्म नेपालमा खिचिने भएको छ । ‘दिग्बी’ नामको फ्रान्सेली फिल्म नेपालमा छायांकन हुन लागेको हो । लोकेशन खोज्ने शिलशिलामा नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतवार काठमाडौंको एक पाँचतारे होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै फ्रान्सेली भाषामा बन्ने फिल्मको बारेमा जानकारी गरायो ।

काठमाडौं र सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको नाम्चे क्षेत्रमा फिल्मको छायांकन हुने निर्देशक सिमोनले बताए । ३५ दिनको छायांकन सेड्युलमा नेपाली कलाकारहरुको समेत अभिनय रहनेछ । फिल्मको ९० प्रतिशत नेपालमा र बाँकी १० प्रतिशत फ्रान्समा छायांकन हुने फिल्मका लेखक समेत रहेका सिमोनले जानकारी दिए । आगामी मार्चदेखि फिल्मको निर्माण सुरु हुनेछ ।

सन् २०१५ को भूकम्पको बेला नेपालीलाई सघाउन कन्सर्ट आयोजना गरेका सिमोनले त्यसबेला नै नेपालमा फिल्मको छायांकन गर्ने योजना बनाएका थिए । पत्रकार सम्मेलनमा उनले भने( ‘धेरै विदेशीहरु आध्यात्मिकताको खोजी गर्न नेपालमा आउँछन् । म पनि आनन्द र खुशी दिने एउटा फिल्म बनाउन नेपाल आएको छु ।’ फिल्मले नेपालको पर्यटनलाई पनि सघाउने उनको विश्वास छ ।

निर्देशक सिमोनका अनुसार, फिल्मले आध्यात्मिकता, संगीत र जीवनको अर्थ खोज्दै युरोपबाट नेपाल आइपुग्ने एक पात्रको कथा भन्छ । उसको नेपालमा एक सारंगीवादक बालकसँग भेट भएपछि आउने परिवर्तन फिल्मको कथावस्तु हो । नेपाली पात्रका लागि चाँडै कास्टिङ हुने जनाइएको छ । फ्रान्सेली फिल्मको नेपाल लाइन प्रोडुसरमा दिग्विजय भारती र सुरेश अधिकारी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*