केपी कला केन्द्रमा प्रहरीको छापा, ८ जना पक्राउ

पर्सा प्रहरीले वीरगन्जको केपी स्वर्ण कलाकेन्द्रमा छापा मारेको छ । हुन्डी कारोबार गरेको ठहर गर्दै छापा मार्दा स्रोत नखुलेको ४१ लाख ९२ हजार ९ सय नगदसहित आठ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये दुईजना भारतीय नागरिक रहेको पर्साका प्रहरी उपरीक्षक सोमन्द्र सिंह राठौरले बताए ।
‘चाँदी पनि ठूलो मात्रामा फेला परेकाले आन्तरिक राजस्व कार्यालय पर्साको समन्वयमा अबेर साँझसम्म चेकजाँच भइरहेको छ,’ राठौरले भने ।
पक्राउ पर्नेमा भारतको चेरगाहाका राजकपुर साह, मोतिहारीका सुनिल प्रसाद र पर्साको विन्दवासीका सुजित कुमार, वेल्वाका चन्दन सर्राफ, चन्द्रनिगाहपुरका सूर्य बहादुर, चैनपुर बाराका गुलाव साहसहित वीरगन्जका राकेशकुमार सिंह र घनश्याम सर्राफ रहेको प्रहरीले जनाएको छ ।
नगदमा पनि कुन नोट कति कति वटा छन् ? कसरी यहाँ यो रकम आइपुग्यो भन्ने थप अनुसन्धान पछि विस्तृत जानकारी दिने उनले बताए । वीरगन्ज महानगरपालिका–९ माईस्थान चौकको दक्षिणतर्फ रहेको केपी कलाकेन्द्रमा ठूलो परिणाममा चाँदी पनि फेला परेकाले थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।