श्रीलंकाविरूद्वको ५ ओडीआई सिरिज अस्ट्रेलियाले २-३ ले गुमायो

जनपत्र
११ असार २०७९, शनिबार ०६:४८

अस्ट्रेलियाले पाँचौं तथा अन्तिम ओडीआई खेलमा श्रीलंकामाथि संघर्षपूर्ण जित हात पारेको छ। शुक्रबार सम्पन्न खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि ४ विकेटको जित हात पारेको हो। योसँगै अस्ट्रेलियाले सिरिज २–३ ले गुमाएको छ।

जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३९।३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। अस्ट्रेलियाको जितमा विकेटकिपर एलेक्स केरी सर्वाधिक ४५ रनमा अविजित रहे।

उनले ६५ बलमा १ चौका प्रहार गरे। मार्नस लाबुसेनले ५९ बलमा २ चौकासहित ३१ रन बनाए। यता, मिचेल मार्शले ५० बलमा ३ चौकासहित २४ रन बनाए। युवा अलराउन्डर क्यामरन ग्रिन २६ बलमा २ चौका र १ छक्कासहित २५ रनमा अविजित रहे।

श्रीलंकाका बायाँ हाते स्पिनर दुनिथ वेलालेजले १० ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए। महेश थिक्सनाले २ विकेट लिए।त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका ४३।१ ओभरमा १ सय ६० रनमा अलआउट भयो।

श्रीलंकाका तल्लोक्रमका चामिका करुणारत्नेले सर्वाधिक ७५ रनको योगदान दिए। उनले ७५ बलमा ८ चौका र २ छक्का प्रहार गरे। कुशल मेन्डिसले ४० बलमा ३ चौकासहित २६ रन बनाए। अस्ट्रेलियाका जोश हाजलउड, म्याथ्यु र पाट कुमिन्सले २र२ विकेट लिए।

अस्ट्रेलिया पहिलो खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा २ विकेटले विजयी भएको थियो। त्यसपछि दोस्रो खेलमा २६ रन, तेस्रो खेलमा ६ विकेट र चौथो खेलमा ४ रनले पराजित हुँदै ३० वर्षपछि अस्ट्रेलियाले श्रीलंकामा ओडीआई सिरिज गुमाएको थियो। तीन टी-२० आई सिरिज भने अस्ट्रेलियाले २–१ ले जितेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*